समाचार

बाघ जोगाउन रत्ननगरमा यस्तो कार्यक्रम सुरु

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकामा बाघ संरक्षणका लागि स्कूल शिक्षा कार्यक्रम शुरु गरिएको छ । मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गतको बाघ संरक्षण उपसमितिले बाघ संरक्षणका लागि आजदेखि सो कार्यक्रम शुरु गरेको हो ।

रत्ननगरको कपरखोर माध्यामिक विद्यालयमा आज आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले उक्त कार्यक्रम शुभारम्भ गर्दै बालबालिकामार्फत तिनका अभिभावकलाई सचेत गराउन स्कूल शिक्षा कार्यक्रम प्रभावकारी हुने बताए ।

प्रायः जंगलमा घाँस दाउरा खोज्न जाने तथा जंगलमा आश्रित हुने अभिभावक सरकारी विद्यालयमा पढ्ने विद्यार्थीका बुबाआमा हुने भएकाले उनीहरुलाई केन्द्रित गरेर स्कूल शिक्षा शुरु गरिएको आयोजक समितिका संयोजक जीतु तामाङले जानकारी दिए ।

कार्यक्रमको मुख्य उद्देश्य वन्यजन्तुको संरक्षण र मानव तथा वन्यजन्तु बीचको द्वन्द्व घटाउनु रहेको बताउँदै उहाँले बालबालिकामार्फत अभिभावकसमेत सचेत हुने भएकाले आजदेखि यो कार्यक्रम थालिएको उल्लेख गरे ।

पहिलो चरणमा यहाँको कपरखोरी, मोहना, चित्रसारी, मालपुर बछौली र झुवानी माध्यामिक विद्यालयका यो कार्यक्रममार्फत झण्डै ३०० बालबालिकालाई सचेत गराइनेछ र त्यसपछि निकुञ्जको पूर्वी सेक्टरअन्तर्गतका सबै विद्यालयमा कार्यक्रम चलाइने जनाइएको छ ।

सो क्रममा मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष तथा संरक्षणकर्मी वासु ढुंगानाले विरलै देशमा पाइने दुर्लभ पाटे बाघ संरक्षणले नेपालको प्रतिष्ठासमेत उँचो हुने र यसलाई हेर्न विदेशी आउने भएकाले पर्यटन विकासमा समेत टेवा पुग्ने उल्लेख गरे ।

बाघमारा मध्यवर्ती सामुदायिक वन र लिभिङ, विथ टाइगर परियोजनाको सहकार्यमा शुरु भएको कार्यक्रममा प्रकाश चापागार्इंले बाघ संरक्षण र यसको महत्वबारे प्रशिक्षण दिएका थिए । हाल नेपालमा १९८ वटा पाटे बाघ छन् । सन् २०२२ सम्ममा बाघ दोब्बर बनाउने लक्ष्य सरकारले लिएको छ ।