शिक्षा

शिक्षक विवादका कारण पठनपाठन प्रभावित

नवलपरासी । पश्चिम नवलपरासीको एक सामुदायिक विद्यालयमा प्रधानाध्यापक र विद्यालय संचालक बीचको विवादका कारण विगत दुई महिनादेखि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

बर्दघाट नगरपालिका वडा नं १० मा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति, अभिवाकले संयुक्तरुपमा प्रधानाध्यापक सरस्वती श्रेष्ठको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वैशाख २ गते जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेका थिए ।

विद्यालय सञ्चालक समतिको निर्णय नमान्ने भन्दै आफूले जिम्मेवारी नछाड्ने प्रअ श्रेष्ठले अडान लिनुभएकाले विद्यार्थीले नै उनको बिरुद्धमा तालाबन्दी गरेपछि पठनपाठन बन्द भएको हो । शिक्षक, सञ्चालक समिति ,शिक्षक अभिभावक समितिले निलम्वित प्रअ श्रेष्ठलाई कुनै पनि हालतमा नस्वीकार्ने र प्रअ श्रेष्ठले पनि नछाड्ने अडान लिँदा समस्या जटिल बन्दै गएको छ ।

सञ्चालक समितिको निर्णयविरुद्ध प्रअ श्रेष्ठले उच्च अदालत दाङमा रिट दायर गरेपछि अदालतले तत्कालाका लागि यथास्थितिमा नै काम गर्न अन्तरिम आदेश दिएको छ । “अदालतमा मुद्दा विचाराधीन भएको भन्दै जे गर्छ अदालतले गर्छ, विभिन्न बहाना बनाएर मलाइ हटाउने मात्र प्रयास भएको हो”, प्रअ श्रेष्ठको भनाइ छ ।

“शिक्षकबीच जस्तो विवाद भए पनि हाम्रो भविष्य बिगार्ने अधिकार कसैलाई छैन, विद्यार्थी सचिन आचार्यले भन्नुभयो, “तत्काल विद्यालय सञ्चालन गर्नु पर्दछ ।” शिक्षकको विवादमा विद्यार्थीको भविष्यमाथि खेलबाड भएको भन्दै अभिभावकले विवाद मिलाइदिन नगरपालिका, जिल्ला शिक्षा कार्यालय र नागरिक समाजसंग आग्रह गरेका छन् ।

विद्यालयमा आपसी विवादका कारण “छोराछोरीको पढाइ बिग्रिएको छ”, अभिभावक अम्बिका खड्का भन्छन्, “निजी विद्यालयमा भर्ना गर्न आर्थिक स्रोत छैन । सामुदायिक विद्यालयमा तालाबन्दीका कारण पठनपाठन पूर्णरुपमा बन्द छ ।” विवाद समाधानका लागि प्रशासन, शिक्षा कार्यालय र स्थानीय तहमा पटकपटक वार्ता भए पनि समस्या समाधान हुन सकेको छैन ।

सबैभन्दा बढी एसइइ (कक्षा १०) को परीक्षा तयारी गर्नुपर्ने विद्यार्थीलाई समयमै पढाइ नसकिने चिन्ता छ । कक्षा १० मा अध्ययनरत बिपना कँडेलले एसइइ परीक्षाको तयारीमा जुट्ने समयमा विद्यालय नै बन्द भएपछि आफूहरु चिन्तामा रहेको बताइन् ।

“अहिलेका प्रधानाध्यापक श्रेष्ठको कार्यशैलीप्रति कसैलाई पनि चित्त नबुझेपछि सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि शिक्षक ढुण्डीराज भण्डारीलाई प्रअको जिम्मेवारी दिएको छ ।”

विद्यालयको विवाद तत्काल समाधान नहुने भएपछि अभिभावकले नजिकैको अन्य विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइदिन सम्बन्धित सबै सरोकार भएका निकायसँग माग गरेका छन् ।

प्राथमिक तहको दरबन्दी रहेको विद्यालय निजी स्रोतमा १० कक्षासम्म अध्यापन हुँदै आएको छ । विगत तीन वर्षदेखि वार्षिकोत्सव तथा आर्थिक हिसाब पारदर्शी नभएको विद्यालयका शिक्षक ताराप्रसाद भुसाल बताउन्छन् ।

“प्रअको गुणस्तर वृद्धिका लागि पहल पनि नगर्ने र पद पनि नछाड्ने अडान लिएपछि हामी सबै आन्दोलित भएका हौँ”, शिक्षक भुसाल भन्छन्, “यस्तै हालत रहने हो भने विद्यार्थी र हामी शिक्षक सबैको भविष्य अन्धकार हुनेछ ।”

यस घटानाका सम्बन्धमा बर्दघाट नगरपालिकाका नगर शिक्षा अधिकृत तुलसी अधिकारी प्रअ श्रेष्ठको मुद्दा दालतमा मुद्दा विचाराधीन अबस्थामा भएका कारण शिक्षा शाखाले समस्या समाधानका लागि केही गर्न नसक्ने बताउन्छन् ।

विद्यालयको अवस्था बिग«ँदै बिग्रदै गएकाले विद्यार्थीको संख्या वर्षेनी घटिरहेको छ । अघिल्लो वर्ष ३५० भन्दाबढी विद्यार्थी भर्ना भए पनि यस वर्ष मुस्किलले २५० विद्यार्थीमात्र छन् ।