सूचना प्रविधि

मन्त्री बाँस्कोटाले सदस्य दुवाडीलाई खुवाए शपथ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त सदस्य राममणि दुवाडीलाई शपथ दिलाएका छन् ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सदस्य दुवाडीलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रमपछि मन्त्री बाँस्कोटाले प्राधिकरण मुलुकको दूरसञ्चार विकासको मस्तिष्क भएको बताउँदै डिजिटल र समृद्ध नेपाल निर्माणमा यसको सक्रियता महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

प्राधिकरणका अध्यक्ष र सदस्यलाई तदारुकताका साथ संस्थाको उद्देश्यअनुसारको काम गर्न निर्देशन दिँदै उनले भने, “सही र राम्रो काम गर्न कसैलाई पर्खनु पर्दैन ।” संस्थाको लक्ष्य हासिल गरेर देशलाई सेवा गर्नुपर्ने मन्त्री बाँस्कोटाको भनाइ थियो ।

उनले भने, “बेथितिहरु आफ्नोतर्फबाट पनि नगरौँ र अन्य सेवा प्रदायकबाट पनि हुन नदिऔँ ।” निजी क्षेत्र पनि सेवा प्रवाह गर्ने कुरामा सरकार जत्तिकै इमान्दार हुनुपर्ने उनको धारणा थियो ।

प्राधिकरणमा अध्यक्षसहित पाँच सदस्य रहने कानूनी प्रावधान छ । धादिङ निवासी दुवाडी प्राधिकरणको बजार व्यवस्थापनतर्फको सदस्यमा खुला प्रतिस्पर्धाबाट पाँच वर्षका लागि नियुक्त भएका हुन् ।