राजनीति

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसाथ गर्छ: प्रधानमन्त्री

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गरेका छन् ।

चीनको औपचारिक भ्रमणमा रहका प्रधानमन्त्री ओलीले ‘सुशासन र समृद्धिमा राजनीतिक पार्टीको भूमिका’ विषयमा सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको उतारचढाव र वर्तमानको शक्तिशाली सत्तारुढ पार्टीको लक्ष्यबारे स्पष्ट पारेका हुन् ।

उनले भने, “हाम्रो अहिलेको मुख्य प्राथमिकता राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै आर्थिक समृद्धि हासिल गर्नु हो । हाम्रो नीति र कार्यक्रमको लक्ष्य समाजवादको जग खडा गर्नु हो । हामीले शान्तिपूर्ण माध्यम र लोकतान्त्रिक प्रतिस्पर्धाद्वारा जनताको सरकार स्थापित गर्ने सोच राखेका छौँ ।”

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को विभिन्न आन्दोलनको अनुभवसहित पार्टी एकताको बिन्दुमा आइपुग्दा साम्राज्यवाद र सामन्तवादविरुद्ध लड्दै वर्तमानको उपलब्धि हासिल भएको प्रधानमन्त्रीले उल्लेख गरे ।

उनले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन अस्तित्व रक्षाको अवस्थामा पुग्दा नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्तका आधारमा पार्टीलाई लोकप्रिय बनाउन सकिएको स्मरण गरे ।

माओवादी सशस्त्र जनयुद्धले मुलुकका सिमान्तकृत समुदायका बीचमा राजनीतिक चेतना फैलाउँदै संविधानसभा, गणतन्त्रलाई राष्ट्रिय मुद्दाका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले जानकारी दिए ।

यी दुवै अनुभवपछि दुई पार्टीबीच माक्र्सवाद, लेनिनवादको मार्गदर्शक सिद्धान्तका आधारमा बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक मूल्यमान्यता, आर्थिक, सामाजिक रुपान्तरण, राष्ट्रिय अर्थतन्त्रको सबलीकरण, समाजवादी दिशानिर्देश, आम सहभागिता र शान्तिपूर्ण लोकतान्त्रिक माध्यमको नीतिगत विशेषतासहित नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको प्रधानमन्त्री ओलीले स्पष्ट गरे ।

उनले नेकपाले हाल संघीय संसद्मा दुई तिहाइ जनमत र सातमध्ये छ प्रदेशमा सरकार सञ्चालन गरिरहेको जानकारी दिँदै यसबाट जनताले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनादेश दिएकाले सरकार आफ्ना सबै प्रयासमार्फत समृद्ध नेपाल र सुखी नेपालीको संकल्प साथ अघि बढिरहेको छ भने ।

उनले नेपाल र चीनले एकआपसमा आफ्ना समाजवादी अभ्यास र मर्मलाई आत्मसात् गरेको उल्लेख गर्दै उनले जनताले समाजवादमा मात्र वास्तविक प्रगति, न्याय र जनमुखी विकास महसुस गर्न सक्ने भएकाले विश्व पूँजीवादको प्रभाव कम गर्नु वर्तमानको आवश्यकता रहेको बताए ।

नेपालले पञ्चशील सिद्धान्तअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले चीन सरकार र जनताले नेपालको शान्ति प्रगति र समृद्धिको चाहनामा सामान्य तथा विशिष्ठ अवस्थामा सहयोग गर्दै आएकोमा प्रशंसा गरे ।

उनले सो पार्टी स्कुलको अवलोकन गरेका थिए । पार्टीलाई जनतासँग जोड्न, नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्न त्यस्ता स्कुल महत्वपूर्ण हुने भन्दै उनले यसबाट आफूहरुले पनि सिक्ने अवसर पाएको बताए ।

प्रधानमन्त्रीले कम्युनिष्ट स्कुलको अनुभवको आदानप्रदान गर्दै सुशासन र समृद्धिका लागिसमेत सहयोग पुग्ने भएकाले आफूहरुलेसमेत सकारात्मक भूमिका खेल्ने उल्लेख गरे ।