देश

गोहीको बासस्थान र प्रजनन प्रक्रियाबारे अनुगमन

चितवन । वर्षा शुरु भएसँगै खोला नदीमा बाढी आउँदा संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको बासस्थानको अवस्था र प्रजनन प्रक्रियाका बारेमा अनुगमन गर्न थालिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्रको गोही प्रजनन केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्कासहितको टोलीले तीन दिनयता राप्ती नदी र नारायणी नदीमा अनुगमन गरिरहेको छ ।

खड्काका अनुसार धमिलो पानीमा गोहीको आनीबानी कस्तो रहन्छ र उसको आहारको अवस्था के छ भन्नेबारेमा प्रत्यक्षरुपमा अनुगमन गरिएको छ । राप्ती नगरपालिकाको पिप्लेबाट राप्ती नदीमा खड्काको टोलीले ¥याफ्टिङ बोटमा बसेर अनुगमन गरेको हो । सोही क्रममा यसअघि गोहीको अण्डा संकलनका क्रममा छाडिएका गुँडहरुमा अण्डाबाट गोहीका बच्चा कोरलिए नकोरलिएको पनि हेरिएको उनले बताए ।

नारायणीमा छोडिएकामध्ये एउटा गुँडमुनिबाट पानी बगेपछि अण्डा बिग्रिएको र दुई वटामा ५० वटा जति बच्चा कोरलिएको उनले बताए । अन्य दुई गुँड भने हराएको उनले जानकारी दिए ।

सोही समयमा राप्तीमा सात र नारायणीमा दुई गुँडबाट अण्डा संकलन गरिएको थियो । ती अण्डा प्रजनन् केन्द्र कसरामा राखिएकामा २०० जति बच्चा कोरलिएको उनले बताए । पानी धमिलो हुँदा यो मौसममा धेरै गर्मी हुने भएकाले गोहीलाई आहार बढी चाहिने हुन्छ । बाढीले माछालाई बगाउने हुँदा धमिलो पानीभित्र अधिकांश गोही शिकारमा व्यस्त हुने गरेको पाइएको खड्काले बताए । जाडो महिनामा नदी किनारमा सुस्ताउने गोही अहिले भने पानीभित्र व्यस्त रहेको पाइएको छ ।

गोहीले धमिलो पानीमा पनि आँखा देख्ने भए पनि माछाले नदेख्ने हुँदा गोहीलाई शिकार गर्न भने सहज भएको देखिएको छ । खड्काले राति पनि नदीको बगरमा नै बसेर अनुगमन गरिएको र अझै केही दिन लाग्ने बताए ।

हालसम्म नारायणी र राप्ती नदीमा एक हजार ३६५ वटा घडियाल गोही छोडिसकिएको छ । तीनै नदीमा अण्डा संकलन गरी प्रजनन केन्द्रमा बच्चा हुर्काएर नदीमा छाडिँदै आएको छ । तर गत वर्षको गणनाअनुसार नारायणी र राप्ती नदीमा गरी १६६ वटा गोही मात्रै रहेका छन् ।