शिक्षा

इँटाभट्टाबाट फर्काइएका बालबालिका विद्यालयमा

रोल्पा । गरिबीका कारण विद्यालय जान नपाएका, श्रमका लागि इँटाभट्टा गएका तथा अपांगता भई विद्यालय जान कसैको सहयोग नपाएका रोल्पाका ३०० भन्दा बढी बालबालिका विद्यालयको पहुँचमा पुगी नियमित पठनपाठनमा लागेका छन् ।

विद्यालय बाहिर रहेका त्यस्ता बालबालिकामध्ये केहीलाई वैकल्पिक शिक्षा दिएर कक्षा ३ सम्म भर्ना गरिएको छ भने अधिकांश कक्षा १ मा भर्ना भई नियमित पठनपाठनमा लागेका छन् ।

जिल्लाको रुन्टीगढी, माडी, त्रिवेणी, सुनिल स्मृति गाउँपालिका र रोल्पा नगरपालिकामा ती विद्यार्थी विद्यालय बाहिर रहँदै आएका थिए । सेभ द चिल्ड्रेनले मानवअधिकार सचेतन केन्द्रसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरिरहेका ती स्थानीय तहमा विद्यालय बाहिर रहेका विद्यार्थी विद्यालयको पहुँचमा पुगी नियमित पठनपाठनमा लागेको बताइएको छ ।

गरिबी मुख्य कारण रहेका ती बालबालिकालाई नियमित विद्यालय जाने वातवारण बनाउन विद्यालय पोशाक, झोला, शैक्षिक सामग्री सहयोग गरिएको सेभ द चिल्ड्रेनका दिलकमल क्षेत्रीले जानकारी दिए । उनीहरुका अभिभावकलाई समेत आयआर्जनका क्रियाकलापमा सहयोग गरेका छौँ, क्षेत्रीले भने ।

अघिल्लो शैक्षिक सत्रमा समेत ती स्थानीय तहमा विद्यालय बाहिर रहेका ४०० भन्दा बढी बालबालिकालाई विद्यालय भर्ना गरिएको थियो । अघिल्लो वर्ष भर्ना भएका सबै बालबालिकाले नियमित अध्ययन गरिरहेको क्षेत्रीले जानकारी दिए ।

विद्यार्थीको पठनपाठन सहजताका लागि आफूहरुले कार्यक्षेत्रका १३० विद्यालयमा कक्षा व्यवस्थापनसमेत गरेको मानवअधिकार सचेतन केन्द्र, रोल्पाले जानकारी दिएको छ ।

बालबालिकाको कक्षा व्यवस्थापनका लागि कार्पेट, कुशन, राउण्ड टेबुल, ¥याकलगायतका सामान सहयोग गरेका छौँ मानवअधिकार सचेतन केन्द्र, रोल्पाका शिक्षा अधिकृत प्रमिला घर्तीले भने ।