देश

यम्घाको दर्पुकमा पहिलोपटक बस पुग्यो

रामपुर, पाल्पा । पाल्पाको बगनासकाली–६ यम्घाको दर्पुकमा पहिलोपटक बस पुगेको छ । बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा कच्ची सडक चौडा पारिएपछि बुधबार पहिलोपटक गाउँमा बस पुगेको हो । लु १ ख ७७७६ नंका बस चालक कुलबहादुर गाहाले पहिलोपटक गाउँमा बस पु¥याएका हुन् । स्थानीयवासीले हर्षित हुँदै बसका चालकलाई फूलमालाले स्वागत गरेका थिए ।

गाउँपालिकाको आव २०७४/०७५ को मौलेभञ्ज्याङ्ग दर्पुक सडक सुधारका लागि विनियोजित रु ४० लाख बजेटमा सडक चौडा पारिएको छ ।

बगनासकाली गाउँपालिकाको मौलेभञ्ज्याङ्मा आठवर्ष अगाडिदेखि साँघुरो सडक र अप्ठ्यारो घुम्ती छिचोल्दै दैनिकजसो तानसेनसम्म जिप सञ्चालन हुँदै आएपनि सडक चौडा नपारिँदा यात्रुले समस्या भोग्दै आएका छन् । सडक चौडा भएसँगै गाउँमा बस पुगेपछि स्थानीयवासीले खुशियालीमा एकअर्कामा अबीरजात्रा गरेका थिए । दर्पुक गाउँमा सीमान्तकृत बोटे समुदायको समेत बाक्लो बस्ती रहेको छ ।

सुधारिएको सडकबाट गाउँमा गाडी पुगेको बगनासकाली गाउँपालिकाका प्रवक्ता एवं वडा ६ का अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले बताए । गत आवको गाउँपालिकाको सबैभन्दा बढी रकमको बजेट यसै क्षेत्रमा राखिएको थियो, आगामी वर्ष यसको स्तरोन्नति गरी नियमित बस जाने बनाउन पहल गरिने उनले बताए ।

नियमित बस आएपछि आवतजावतमा सहज हुने स्थानीय रामप्रसाद भट्टराईले बताए । गाउँबाट नियमित बस सञ्चालन भएमा सिमाना जोडिएका जिल्ला स्याङ्जाको मालुङ्गा, बेल्टारी, जैपतेलगायतका स्थानीयलाई पनि ठूलो राहत मिल्नेछ ।