कृषि

उदयपुरमा धान रोपाइँ शुरु

गाईघाट, उदयपुर । यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु गरेका छन् ।

विगतका वर्षमा सरदर असारको तेस्रो हप्तादेखिमात्र उदयपुरलगायत तराईका जिल्लामा धान रोपाइँ शुरु हुने गरेता पनि यस पटक वर्षा अगाडि नै शुरु भएपछि उदयपुरमा भने धानको बीउ हुर्किन लागेका स्थानमा कृषकले धान रोपाइँ शुरु गरेको संबद्ध कृषक बताउँछन् ।

अहिले त्रियुगा नगरपालिकाको चुहाडे, राजाबास, जोगिदह, चौदण्डी नगरपालिकाको हँडिया, सुन्दरपुर, बेलका नगरपालिकाको आम्बासीसहितका क्षेत्रमा कृषकले धान रोपाइँ शुरु गरेको यस क्षेत्रका कृषक बताउँछन् ।

त्रियुगा नगरपालिका–१ जोगिदहका कृषक जागेश्वर चौधरी भन्छन्, “धानको बीउ त सामान्य थियो तर शुरुमा नै वर्षा राम्रो हुन थालेपछि धान रोपाइँ शुरु गरेका हौँ, पछि फेरी सुख्खा लाग्छ भनेर असार २ गतेदेखिनै रोपाइँ शुरु ग¥यौँ ।”

त्रियुगा नगरपालिका–७, राजाबासका कुमार दनुवार अहिले शुरुमा नै वर्षा राम्रो हुन थालेको हुनाले आकाशेपानीको मौका छोपेर धान रोपाइँ शुरु गरेको बताउँछन् ।

असार महिनाको शुरुमा नै वर्षा राम्रो हुन थालेपछि उदयपुरका कृषकलाई भने असारको शुरुदेखि नै अहिले धान रोपाइँको चटारोले छोएको हो ।

जिल्ला कृषि विकास कार्यालय उदयपुरका प्रमुख सरोजकान्त अधिकारी शुरुमा नै वर्षा राम्रो हुन थालेका कारण कृषकले धान रोपाइँ पनि शुरु गरेको बताउँछन् ।

जिल्ला कृषि विकास कार्यालय उदयपुरका अनुसार उदयपुरमा १४ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको तथ्याँक रहेको छ । जिल्लाका झण्डै ४० प्रतिशत कृषकले आकाशेपानीको भरमा नै धान रोपाइँ गर्दै आएका छन् । बाँकी कृषकमात्र खोलानाला र आकाशेपानी दुवै प्रयोग गरेर धान रोपाइँ कार्य गर्दै आएको संबद्ध अधिकारी बताउँछन् ।