देश

विकट सिम्कोशमा बन्यो झोलुंगे पुल

बाबियाचौर, म्याग्दी । धौलागिरि गाउँपालिका–४ मुदीको जेल्तुङ र सिम्कोश गाउँको सिमाना म्याग्दी खोलामा झोलुंगे पुल निर्माण भएको छ । गाउँपालिका र टिबिएसयुको सहयोगमा भौगोलिकरुपमा विकट तथा दुर्गम क्षेत्रमा अवस्थित सिम्कोश बगरगाउँका बासिन्दाले १०२ मिटर लामो झोलुंगे पुल निर्माण गरेका हुन् । २०७४ असारमा म्याग्दी नदीमा आएको बाढीले म्याग्दी नदीमा आएको बाढीले काठको झोलुंगे पुल बगाएपछि आवतजावत गर्न समस्या भएको थियो ।

पुल निर्माण भएपछि साँघु र तुइनबाट जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद पुनले जानकारी दिनुभयो । पुल बगाएपछि सिम्कोशका बासिन्दाले तुइनबाट खाद्यान्न, नुन तेल तारेर उपभोग गर्दै आएका थिए ।

गत वर्ष सिम्कोशको जंगलमा चरनका लागि बगरका बासिन्दाले लगेका गाईबस्तु पुल बनेपछि मात्रै गाउँमा ल्याइएको छ । रु ४६ लाख १४ हजार ७५९ को लागतमा निर्माण भएको पुलबाट ३७ घरधुरीका २२३ जनसंख्या लाभान्वित भएका अध्यक्ष पुनले बताए ।

गाउँपालिकाको रु पाँच लाख ५३ हजार ८०३, टिबीएसयुको रु पाँचलाख सातहजार ८६ बराबरको लट्ठा र बुल्डअफ ग्रिप, रु २० लाख २२ हजार ४९३ नगद, रु १४ लाख २६२ को निर्माण सामग्री र समुदायको रु ९२ हजार २०१ बराबरको श्रमदानमा पुल निर्माण भएको हो ।

२०७४ फागुन ८ गतदेखि निर्माण शुरु भएको पुल लक्ष्यभन्दा करीब एक महिनाअघि नै सम्पन्न भएको हो । असार २० गते सम्पन्न गर्ने लक्ष्य भएपनि उपभोक्ताको सक्रियताका कारण एक महिनाअघि नै काम सकिएको पुल निर्माणमा सामुदायिक परिचालन तथा प्राविधिक सहयोग गरेको संस्था मिलन म्याग्दीकी प्राविधिक विष्णु पन्तले बताए ।

धार्मिकस्थलको संरक्षण गरी पर्यटन विकास

यसैबीच, म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका बासिन्दा धार्मिकस्थलको संरक्षण र पूर्वाधार विकास गरी गाउँमा पर्यटक भित्र्याउने अभियानमा जुटेका छन् ।

जिल्ला सदरमुकाम बेनीबजारको उत्तरी क्षेत्रको शिरमा रहेको जामुनाखर्कको डाँडामा भगवती मन्दिर निर्माण गरेका स्थानीयवासीले बेनीदेखि जामुनाखर्क, राममन्दिर, पछै, पुलाश्रम हुँदै जगन्नाथ जोड्ने धार्मिक पदमार्ग सञ्चालनको पहल थालेका छन् ।

सामुदायिक वन र स्थानीयवासीबाट सहयोग जुटाएर रु १२ लाखको लागतमा भगवती मन्दिर पुनःनिर्माण गरिएको निर्माण समितिका अध्यक्ष खडानन्द शर्माले जानकारी दिए। बडादशैँ र चैतै दशैँमा विशेष पूजाआजा हुने मन्दिरमा दैनिक पूजा सञ्चालनसँगै थप पूर्वाधार निर्माणको लागि पहल भएको छ ।

मन्दिर निर्माणका लागि खैरेनी र ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समूहले रु एक/एक लाख सहयोग गरेका छन् । यसैगरी सममुरेले रु पाँच हजार ५००, राम्चेले रु १० हजार, सानो चौतारीले रु १५ हजार उपलब्ध गराएका छन् ।

जामुनाखर्कका ८० घरधुरीबाट श्रमदान र आर्थिक सहयोग जुटाएर मन्दिर पुनःनिर्माण गरिएको अध्यक्ष शर्माले बताए । मन्दिर परिसरमा वडाको प्रस्तावमा नगरपालिकाले उपलब्ध गराएको रु एक लाखबाट सत्तल निर्माण भएको छ ।

डिलकुमारी रानाले जग्गा उपलब्ध गराएका थिए । स्थानीय शंकर शर्माले निजी लगानीमा गणेशको सानो मन्दिर पनि बनाउनुभएको छ । बेनीको क्याम्पसचोकदेखि जामुनाखर्क, पछै, जगन्नाथ जोड्ने धार्मिक पदमार्ग सञ्चालनमा ल्याएर पर्यटक भित्र्याउने लक्ष्य रहेको वडासदस्य गणेश शाहीले बताए।

म्याग्दी र कालीगण्डकीको दोभान, नागबेली परेर बगेको कालीगण्डकी, बेनी र पर्वत बेनी बजार, गलेश्वर, मल्लाजका साथै धौलागिरि हिमालको पनि दृष्यावलोकन गर्न सकिने उक्त स्थान ओझेलमा परेको छ ।

मन्दिर परिसरमा घेराबार, व्यवस्थित पदमार्ग र उद्यान बनाएर बेनीमा आउने पर्यटकलाई जामुनाखर्क पु¥याएर प्राकृतिक दृश्यपान गराउने योजना रहेको वडाध्यक्ष कृष्णबहादुर बानियाँले बताए । बेनीदेखि पन्ध्र मिनेट उकालो पैदल हिँडेपछि जामुनाखर्क पुग्न सकिन्छ ।