पु.समाचार

महिला र पुरुषको शव होटलमा भेटियो, हत्याको आशंका

भक्तपुर । सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा आज दिउँसो दुई व्यक्तिको शव भेटिएको छ ।

होटलको उक्त कोठामा भक्तपुर नगरपालिका दरबारस्क्वायर बस्ने ३० वर्षीय जीवनतोयना श्रेष्ठ र दोलखा बोच गाउँपालिका–८ बस्ने २२ वर्षीया मुन्नी तामाङको शव मृतावस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए ।

होटलमा मंगलबार दुवै सँगै बस्न गएका श्रेष्ठको कोठाको एटेज बाथरुमभित्रको नुहाउने सावरमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो भने मुन्नी तामाङको शव खाटमा रगताम्य अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धान गर्ने क्रममा कोठाको खानतलासी गर्दा सिसाको टुक्रासमेत फेला परेकाले घटनाबारे आजैबाट थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । हिजो कोठामा गएको मान्छे आज दिउँसो २ बजेसम्म पनि बाहिर ननिस्किएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घटना हत्या हुनसक्ने आशंकामा अध्ययन तथा अनुसन्धान शुरु गरेको छ ।