स्वास्थ्य

मर्चवारमा योग तथा स्वस्थ जीवन कार्यक्रम

बुटवल । रुपन्देहीको ग्रामीण क्षेत्र मर्चवारमा योग तथा स्वस्थ जीवन कार्यक्रम सम्पन्न गरिएको छ । कोटहीमाई गाउँपालिका–५ मर्चवारमा गरिएको कार्यक्रममा स्वस्थ जीवनका लागि योग तथा आयुर्वेदको महत्वको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा स्थानीय बासिन्दा, विद्यालयका शिक्षक विद्यार्थी गरी ३०० जनालाई योग र स्वस्थ जीवन र नसर्ने रोगबाट बच्ने उपायका बारेमा तीन दिनसम्म प्रशिक्षण दिइयो ।

लुम्बिनी अञ्चल आयुर्वेद योग शाखा संयोजक तथा पतञ्जली योग समिति, लुम्बिनीका वरिष्ठ योग प्रशिक्षक विष्णुहरि आचार्यले बढ्दो शहरीकरण र अव्यवस्थित जीवनशैलीका कारण उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सरजस्ता नसर्ने रोग अहिले चुनौतीका रुपमा रहेकाले ती रोगबाट बच्नका लागि अपनाउनुपर्ने जीवनशैलीका बारेमा कार्यक्रममा जानकारी दिए
जीवनशैली व्यवस्थापन गर्नुपर्ने भन्दै त्यसका लागि उचित आहार विहार, व्यवहार र विचारले नसर्ने रोगलाई न्यूनीकरण गर्न सकिने समेत उनले बताए ।

आयुर्वेद शाखा प्रमुख रवीन्द्रप्रसाद मिश्रले ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य क्षेत्रका समस्या बढ्दो रहेको भन्दै स्वस्थ जीवनका लागि सरसफाइदेखि योग, जीवनशैलीको महत्व बढी हुने धारणा राखेका थिए ।

तीनदिने कार्यक्रमको मंगलबार समापन समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले स्वास्थ्य क्षेत्रलाई आफूले महत्व दिने उल्लेख गर्दै वार्षिकरुपमा तीनपटक यस किसिमका कार्यक्रम सञ्चालन गरी चेतना विस्तार गरिने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद घिमिरेले स्वस्थ जीवनका लागि योगको महत्व बढी हुने भन्दै अनुशासनमा ध्यान दिनुपर्ने बताए । शुद्धोधन गाउँपालिका आयुर्वेद शाखाका प्रमुख प्राम्सु ढकालले योगका बारेमा सहजीकरण गरेका थिए ।

योग प्रशिक्षणमा गाउँपालिकाका पदाधिकारीलगायतका जनप्रतिनिधि, दलका स्थानीय नेता कार्यकर्ता तथा सुरक्षाकर्मीको समेत सहभागिता रहेको थियो ।