शिक्षा

जुम्लामा मिडवाइफरी पढाइ हुने

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ‘ब्याचलर इन मिडवाइफरी’ कार्यक्रम सञ्चालन हुने पक्का भएको छ । आगामी आव २०७५/०७६ को पहिलो महिनामा यो कार्यक्रम सञ्चालन हुने निश्चित भएको छ । मिडवाइफरी कार्यक्रम सञ्चालनका लागि नेपाल नर्सिङ काउन्सिलले प्रतिष्ठान, जुम्लालाई सोमबार स्वीकृतिको परिपत्र गरेको नर्सिङ डिन सरस्वती गौतमले जानकारी दिए। उनले परिपत्रमा प्रतिष्ठान, जुम्लाका लागि काउन्सिलले १० सिटको स्वीकृति दिएको उनले बताए।

“वीर हस्पिटलको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (नेम्स), काठमाडौँ विश्वविद्यालयपछि तेस्रोमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले मिडवाइफरी कार्यक्रम सञ्चालन गर्ने अवसर पाएको छ,” नर्सिङ डिन गौतमले भने । उनका अनुसार यो कार्यक्रम सञ्चालनका लागि नेम्सले १०, प्रतिष्ठान जुम्लाले १० र काठमाडौँ विश्वविद्यालयले छ सिट प्राप्त गरेको छ ।

आमालाई सम्मानपूर्वक स्याहारसुसार गरेर मानसिक, शारीरिक एवं सामाजिक रुपले सुरक्षित राख्न र मातृ तथा नवजात शिशु मृत्यु दर घटाउने उद्देश्यले प्रतिष्ठान, जुम्लामा यो कार्यक्रम सञ्चालन हुन थालेको उनले बताए । कर्णालीजस्तो दुर्गम ठाउँका महिला तथा शिशुका लागि यो कार्यक्रम अत्यन्तै प्रभावकारी र लाभदायक हुने उनको भनाइ छ ।

मिडवाइफरी कार्यक्रम सञ्चालनको अनुमति पाएपछि प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले एक वर्षको प्रयासपछि सफलताको एउटा इँटा थपिएको बताए । “हिमाली जिल्लाको यो ऐतिहासिक उपलब्धि हो, अब डेढ महिनाभित्र हामी यो कार्यक्रम सञ्चालन गर्छौं,” रजिष्ट्रार काफ्लेले भने ।

उनका अनुसार यससँगै जुम्लास्थित प्रतिष्ठान एमबिबीएस र एमडिजिपी कार्यक्रम सञ्चालन गर्ने पहलमा निरन्तर अघि बढेको छ । प्रतिष्ठानको यो प्रयासका लागि नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय, प्रदेश सरकारसहित सरोकारवाला सबैको सकारात्मक भूमिका रहेमा प्रतिष्ठान कर्णाली प्रदेशको कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।