पु.समाचार

हाडनाताका बलात्कारीलाई १५ वर्ष कैद

मलेखु, धादिङ । गर्भवती एक किशोरीलाई बलात्कार गर्ने बेनिघाट रोराङ गाउँपालिका – ५ का २० वर्षीय कपिल सुनार विकलार्ई जिल्ला अदालतले आज १५ वर्ष कैद गरी दोषीबाट रु २५ हजार क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
किशोरीलाई रु दुई लाख ५० हजार तत्काल क्षतिपूर्ति भराइदिन महिला तथा बालबालिका कार्यालयलाई पनि जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले आदेश दिएको छ । अभियुक्त विकले गत साल चैत २५ गते पछिल्लो तीन पुस्ताभित्रकी किशोरी बलात्कार गरेपछि प्रहरीले जाहेरीका आधारमा गत जेठ १ गते गिरफ्तार गरेको थियो ।
दोषीलाई जबर्जस्ती करणीमा सात वर्ष, गर्भवतीलाई करणी गरेकामा थप पाँच वर्ष र हाडनातामा करणी गरेकामा थप तीन वर्ष सजायँ गर्ने फैसला भएको छ । जिल्ला अदालतमा गत जेठ २२ गते दर्ता भएको मुद्दा निरन्तर सुनुवाइ गरी १३ दिनपछि आज फैसला गरिएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले बताए ।
पीडित पक्षलाई न्यायको अनभूति हुने गरी अपराधीले पीडितलाई अत्यावश्यक क्षतिपूर्ति तिर्न नसक्ने अवस्थामा राज्य नै अभिभावक भएकाले महिला कार्यालयबाट क्षतिपूर्ति भराउन आदेश गरिएको सहायक जिल्ला न्यायाधिवक्ता पौडेलले बताए ।