समाचार

नीलो स्टिकर भएको ट्याङ्करको पानी मात्र पिउनयोग्य

काठमाडौँ । नीलो स्टिकर पाएका ट्याङ्करका पानी मात्र पिउनयोग्य रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।

उपत्यकामा नीलो स्टिकर पाउने १४ ट्याङ्कर मात्र रहेको बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले राससलाई जानकारी दिए । वर्षामा खानेपानीका स्रोतबाट आउने पानी धमिलो हुने गरेकाले कतिपय उपभोक्ताले ट्याङ्करको पानी पिउन प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले सचेत हुन बोर्डले आह्वान गरेको छ ।

ट्याङ्करको पानीको गुणस्तरीयता जाँच र मूल्य निर्धारणका लागि बोर्डको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो । समिति सदस्यमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधि सदस्य छन् । समिति गठन भएपछि ५५१ टयांकरलाई स्टिकर बाँडिएको बोर्डका कार्यकारी निर्देशक राणाले बताए ।

घरायसी प्रयोजन अर्थात् नुहाउन र कपडा धुन मात्र प्रयोग गर्न सकिने पानी बोक्ने ट्याङ्करलाई हरियो स्टिकर दिइएको छ । यस्ता ट्याङ्कर ४८७ छ । निर्माण र बगैँचामा सिँचाइका लागि मात्र प्रयोग गर्न सकिने पानीको ट्याङ्करलाई पहेँलो स्टिकर दिइएको छ । यस्ता ट्याङ्कर ५० रहेको बोर्डले जनाएको छ ।

वर्षात्मा पानीकै कारण विभिन्न सरुवा रोगको प्रकोप बढ्ने भएकाले बोर्डले दिएको स्टिकरको रङ हेरेर मात्र पानीको उपभोग गर्न बोर्डले अनुरोध गरेको छ । ट्याङ्करको पानीसम्बन्धी विस्तृत जानकारीका लागि बोर्डको मोबाइल एप्स ‘काठमाडौँ भ्याली इन्फरमेसन सिस्टम’ डाउनलोड गरी थप जानकारी लिने सकिने जनाइएको छ ।