देश

बेलायती राजदूत मोरिस र प्रमुख पराजुलीबीच भेटघाट

विराटनगर । नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले विराटनगर महानगरपालिकालाई बेलायतीको भगिनी शहर बनाउन प्रयास गर्ने बताए । विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुली र उपप्रमुख इन्दिरा कार्कीसँग आज भएको भेटघाटमा उनले सो कुरा बताए ।

राजदूत मोरिसले नेपालमा नयाँ संरचनाअनुसार बनेको तीन तहको सरकारमा विराटनगर महानगरपालिकाको भूमिका एवं रणनीतिको बारेमा राखेको जिज्ञासामा प्रमुख पराजुलीले समाजमा उन्नति एवं प्रगति गर्न सामुदायिक विद्यालयमा सुधार गर्नुपर्ने खाँचो औँल्याए।

उनले विराटनगर महानगरपालिका क्षेत्रमा रहेका ५४ वटा सामुदायिक विद्यालयमा पाँच वटालाई नमूना विद्यालय बनाउन रु ५० लाख विनियोजन गरेको र ३२ वटा विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गराएको जानकारी दिँदै नगर क्षेत्रमा पूर्वाधार र सामाजिक कार्य गर्न वित्तीय अभाव रहेकाले दातृ निकायसँग सहयोगको अपेक्षा गरे ।
विपन्न परिवारको मानिसको शिक्षामा पहुँच नभएसम्म विकासको मूलधार पहिल्याउन गाह्रो हुने भन्दै प्रमुख पराजुलीले शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्न प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको बताए ।

विराटनगर क्षेत्रलाई ऐतिहासिक शहरको रुपमा विकास गर्न आफू लागिपरेको उल्लेख गर्दै प्रमुख पराजुलीले बेरोजगारी समस्या समाधान गर्न र स्वरोजगार सिर्जना गर्न कक्षा १२ सम्मलाई प्राविधिक बनाउन आवश्यक छलफल गरिरहेको बताए ।

निजी क्षेत्रसँग सहकार्य गरेर विराटनगर क्षेत्रको विकास गर्न आफू निरन्तर प्रयत्नशील रहेको भन्दै उहाँले स्वास्थ्य क्षेत्रमा फड्को मार्न कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउन पहल गरिरहेको उल्लेख गरे ।

सो अवसरमा उपप्रमुख इन्दिरा कार्कीले एक वर्षको अवधिमा न्यायिक समिति बनेको र अहिलेसम्ममा करिब १०० वटा मद्दा छिनोफानो गरेको जनाए ।

भेटमा राजदूत मोरिसले विराटनगर महानगरपालिकाले अपनाएको रणनीति र तथा विकासका योजना प्रशंसनीय छ भन्दै अगामी दिनमा महानगरपालिकाले तयार पार्ने योजना र रणनीतिमा सफलता मिलोस् भनी शुभकामना दिए ।