राजनीति

पार्टी बलियो बनाउनका लागी राम्रोसंग व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताए । पत्रकारहरुसँगको कुराकानीमा उनले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै जाने बताए ।

पार्टी विधानअनुरुप चल्नु पर्नेमा जोड दिँदै नेता पौडेलले पार्टीलाई स्वच्छ, पारदर्शी ढङ्गले चलाउन र आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिए । पार्टी व्यवस्थापनभन्दा पनि अहिले जेनतेन चलिरहेको बताउँदै उनले अब कसरी चल्छ हेर्दै जाने उल्लेख गरे।

मंगलबारदेखि हेटौँडामा हुने जिल्ला सभापतिहरुको भेलामा उनीहरूको विचारलाई समेटेर पार्टीलाई अघि बढाउन सहज हुने नेता पौडेलले बताए । सभापतिहरुले प्रदेशहरुमा छलफल गरी पार्टीको विधान, संगठन, निर्वाचनको मूल्याङ्कन गर्दै आ–आफ्ना धारणा राख्ने र यसले पार्टीलाई भविश्यमा कसरी सुदृढ बनाउने भन्ने विषयमा सहयोग पुग्ने उनको भनाइ थियो ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको नेतृत्वले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न नसकेको प्रमाणित गराएको बताए । उनले भने, “पार्टीलाई सुधार्नु प¥यो, संस्थागतरुपमा चलाउनुप¥यो, नियमसंगतरुपमा पार्टी अगाडि बढ्नुप¥यो ।” कार्यकर्ताको भावनाअनुसार पार्टी नचलेको भन्दै उनले अब पार्टीलाई संस्थागतरुपमा चलाउनुपर्नेमा जोड दिएका हुन् ।

नेतृत्वको कमजोरीका कारण पार्टीले निर्वाचनमा हार व्यहोर्नु परेको उनको भनाइ थियो । हेटौँडामा हुने सभापतिको भेलामा सहभागी हुन पौडेल र सिंह आज चितवन आएका हुन्।