स्वास्थ्य

लक्ष्मीपुर आयोजना गरिएको शिविरमा एक हजार बढीले स्वास्थ्य लाभ लिए

तुलसीपुर, दाङ । तुलसीपुर उपमहानगरपालिका–१६ को आयोजनामा सो वडाको लक्ष्मीपुर गाउँमा सञ्चालन गरिएको एक दिने महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क शिविरबाट एक हजार बढीले स्वास्थ्य सेवा लिएका छन् ।

स्थानीय महिला सञ्जाललगायत विभिन्न संघसंस्थाको समन्वयमा गरिएको शिविरमा स्थानीय ८६ वर्षीया सीता चौधरीले खुलेर आफ्ना समस्या राख्न पाएकामा खुशी व्यक्त गरेका छन् ।

उनले आफूलाई लामो समयदेखि पेट दुख्ने समस्या रहेको भन्दै आफ्नै घर आँगनमा डाक्टर आई आफूलाई निःशुल्क औषधिसमेत दिएको भन्दै खुशी व्यक्त गरे ।

सो शिविरमा उनी जस्तै एक हजार सात जनाले स्वास्थ्य सेवा लिएको स्त्रीरोग विशेषज्ञ डा. पुष्पा डाँगीले जानकारी दिए ।

शिविरमा उपचार गराएकामध्ये धेरैमा पाठेघरमा समस्या भएका महिला रहेको पनि डा. डाँगीले बताए ।

त्यसैगरी सोही शिविरमा जेष्ठ नागरिकमा हातखुट्टा दुख्ने, दम खोकीलगायतका समस्या रहेको बताइएको छ । स्वास्थ शिविरको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले अबदेखि तुलसीपुर उपनगरवासीले औषधि उपचारको अभावमा ज्यान गुमाउन नपर्ने गरी आफूहरुले काम थालिसकेको बताए ।

उनले तुलसीपुरका बासिन्दाको स्वास्थ्यको जिम्मेवारी स्थानीय सरकारले लिइसकेको भन्दै हरेक वडामा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउने काम अगाडि बढाइसकेको बताए ।
शिविरमा राप्ती अञ्चल अस्पताल तुलसीपुरका डाक्टर पुष्पा डाँगी, डा. गोकर्ण दाहालसहितको ४० जनाको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो ।