समाचार

नेपाल चीनको नाका रसुवागढीलाई लक्षित गरी सडक स्तरोन्नति

रसुवागढी । नेपाल र चीनको सीमा नाका रसुवागढीलाई लक्षित गरी सडकको स्तरोन्नति कार्य अघि बढाइएको छ ।

नेपाली सेनाले मैलुङदेखि स्याफ्रुबेँशीसम्मको १७ किलोमिटर सडक निर्माण गरिसकेको छ । २०७२ वैशाखबाट ट्रयाक खोल्ने काम शुरु गरेको सेनाले उक्त सडकखण्डको भौगोलिक अवस्थाअनुसार नौदेखि ११ मिटरसम्म विस्तार गरेको छ ।

गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेँशी रसुवागढी सडक योजनाका सव इञ्जिनियर तुलाकान्त चौधरीका अनुसार गल्छी–रसुवागढीको कूल ८६ किलोमिटरमध्ये योजनाअन्तर्गत हाल ४६ किमीको काम भइरहेको छ ।

सडक स्तरोन्नति योजना सम्पन्न गर्नका लागि रु तीन अर्ब ६३ करोड ९१ लाखमा दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भई २०७४ असारबाट काम शुरु गरिएको हो ।

योजनाअन्तर्गत बजार क्षेत्रमा नालासहित चार लेन र अन्य बस्ती नभएका ठाउँमा दुई लेनको सडक निर्माणकार्य भइरहेको छ । कतिपय ठाउँमा मुआब्जालगायतका समस्याका कारण ठाउँठाउँमा निर्माण कार्य प्रभावित भएको बताउँदै उनले हालसम्म १६ प्रतिशत मात्र काम भएको जानकारी दिए ।