सूचना प्रविधि

टेलिफोन सेवा अवरुद्ध हुँदा सास्ती भोग्दै रोल्पाली

रोल्पा । रोल्पाको सदरमुकाम लिवाङबाहेकका अन्य स्थानमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । असिना पानी तथा चट्याङका कारण टावरमा आएको खराबीसँगै सेवा अवरुद्ध भएको बताइएको छ ।

पूर्वी रोल्पाको सातदोबाटोमा रहेको टावरमा लामो समयदेखि आएको समस्याका कारण पूर्वी रोल्पाका बासिन्दा सास्ती भोग्दै आएका छन् । सो टावरमा आएको समस्यासँगै पूर्वी रोल्पाका तीन वटा गाउँपालिका प्रभावित भएका छन् । सुनछहरी गाउँपालिकाको गाम, सिउरी र सेरममा पूरै सेवा अवरुद्ध छ भने अन्य वडा पनि आंशिक रुपमा प्रभावित भएका छन् । केही दिन अघि परेको चट्याङका कारण सिष्टम जलेपछि सेवा अवरुद्ध भएको टेलिकम रोल्पाले जनाएको छ ।

समस्या देखिएका टेलिफोन टावर मर्मतका लागि आफूहरुले अञ्चल कार्यालय तुल्सीपुरलाई जानकारी गराएको नेपाल टेलिकम रोल्पाका प्राविधिक प्रतापकुमार महतोले जानकारी दिए। टावरमा ठूलो समस्या देखिएका कारण जिल्लाको जनशक्तिले नभ्याउने भएकाले अञ्चल कार्यालयमा जानकारी गराएका छौँ केही दिनमै सेवा सुचारु हुन सक्छ महतोले भने ।

सेवा अवरुद्ध हुँदा स्थानीय अत्यावश्यक सेवाका लागिसमेत घण्टौँ हिँडेर फोन गर्न बाध्य भएको स्थानीय शिक्षक देवसिंह ठकुरीले बताए ।
उता पश्चिम रोल्पाको रातामाटा रिपिटर टावरमा आएको खराबीका कारण चार दिनदेखि अवरुद्ध टेलिफोन सेवा अझै सुचारु नहुँदा यहाँका स्थानीय मर्कामा परेका छन् ।

टेलिफोन सेवा अवरुद्ध हुँदा पश्चिम रोल्पाका आधा दर्जन बढी गाउँपालिका र रुकुम पूर्वका केही गाउँपालिका समेत टेलिफोन सेवा विहीन हुन पुगेका छन् ।