आर्थिक

सडकले ऋणमा डुबायो नारच्याङवासीलाई

बेनी, म्याग्दी । म्याग्दीको नारच्याङका सोमप्रसाद पुर्जाले घाँटीको सिक्री, औाठी बेँकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिर्न प्रयोग गरे । मजदूरको ज्यालासमेत दिन नसकेपछि पुर्जाले आफ्नो र श्रीमतीको सुनलाई धितो राखेर ज्याला दिएका थिए।

निर्वाचनको प्रचारप्रसारका लागि गाउँमा पुगेका दलका उम्मेदवारले सडक विस्तारमा बजेटको प्रतिबद्धता जनाएपछि ऋणधन गरेर सडक विस्तारमा कस्सिएका नारच्याङवासी नेताले गरेका प्रतिबद्धता पूरा नभएपछि ऋणमा चुर्लुम्मै डुबेका छन् ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बेँशीबाट लेकगाउँ जोड्ने बेँशी–लेकगाउँ मोटरबाटोमा राजनीतिक दलका र निर्वाचित जनप्रतिनिधिको आश्वासन पूरा नहुँदा स्थानीयवासीले तीन वर्ष अगाडि शुरु गरेको सडक निर्माण कार्य अलपत्र परेको छ । बेँशीबाट लेकगाउँका जनतालाई सहज आवतजावत गर्न स्थानीयले चन्दा संकलन गरे पनि पर्याप्त नभएपछि सडक अलपत्र परेको निर्माण समितिका अध्यक्ष पुर्जाले बताए । “सडक विस्तारमा लागेको ऋण तिर्न मैले सुनसमेत धितो राखेको छु,” “बजेट छुट्टियो भनेर काम शुरु गरियो, पछि बजेट सुको आएन” पुर्जाले भने । व्यक्तिगत रुपमा लिइएको ऋणको ब्याज बढिरहेको छ ।

“मजदूरको पैसासमेत तिर्न सकिएको छैन, सडक अलपत्र पर्दा लेकगाउँवासीलाई सास्ती भएको छ” पुर्जाले भन्नुभयो । करीब ६०० घरधुरी रहेको लेकगाउँ आलुखेतीका लागि पकेट क्षेत्र मानिन्छ ।

तत्कालीन जिविसबाट रु छ लाख, पूर्वसांसद रेशमबहादुर बानियाँको कोषबाट रु तीन लाख प्राप्त भए पनि अझै करीब रु १० लाख पुरानो ऋण रहेको उपभोक्ता समितिको भनाइ छ ।

पुरानो ऋण चुक्ता नगरी सडक विस्तारको सम्भावना नभएको समितिको भनाइ छ । गाउँसम्म सडक पु¥याउन कडा चट्टान फोर्नुपर्ने भएकाले पनि करीब रु दुई करोड लागत अनुमान गरिएको छ ।

मिस्त्रीखोला जलविद्युत् आयोजनाले बेँशीगाउँ माथिसम्म सडक विस्तार गरेको छ । लेकगाउँबाट उत्पादन हुने अग्र्यानिक तरकारीलाई निर्यात, अन्नपूर्ण बेस क्याम्प र खोपा लेक जाने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सहज हुने स्थनीय टेक पुनले बताए ।
जिल्लाका ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तारमा आवश्यकताअनुसारको बजेट नहुँदा स्थानीयले आफ्नो खेतबारीको लालपूर्जासमेत धितो राखेर लगानी गर्ने गरेका छन् ।