राजनीति

संघीयताको बजेट केन्द्रमा सीमित भयोः महासचिव वैद्य

चितवन । नेकपा (क्रान्तिकारी) का महासचिव मोहन वैद्यले संघीयता भने पनि बजेट केन्द्रमा सीमित भएको बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले बजेट विकेन्द्रीकरण हुनु पर्नेमा त्यसो हुन नसकेको बताए । उनले देशमा आर्थिक क्रान्ति गर्ने भनिए पनि बजेट त्यस अनुरुप नभएको बताए ।

महासचिव वैद्यले भने, “आर्थिक क्रान्ति भनेपछि गुणात्मक खालको बजेट हुनुपर्नेमा त्यो छैन । सबै बजेट केन्द्रमा सीमित छ ।” सरकार जनगणतन्त्र, जनजीविकाका समस्या समाधान गर्ने दिशामा नगएको उनले बताए ।

सरकार यथास्थितिवादी ढंगले अगाडि बढेको आरोप लगाउँदै उनले यो सरकारले संसद्वादको संरक्षण गरेको उदारीकरण र निजीकरणलाई यथावत राखेकाले देशलाई निकास दिन नसक्ने बताए ।

सरकारले राजनीतिक क्रान्ति पूरा भयो अब आर्थिक क्रान्ति गर्नुपर्छ भने पनि त्यो दिशामा जान नसकेको उनले बताए । उनले भने, “वाम पनि बताउने, कम्युनिष्ट पनि हुँ” भन्ने तर नीति तथा कार्यक्रम र बजेट यथास्थितिमा राख्ने कसरी हुन्छ भनी प्रश्न गरे ।