आर्थिक

राजश्व र व्ययको अनुमान बजेटमाथि छलफल

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभामा असार १ गते प्रस्तुत भएको राजश्व र व्ययको बजेट अनुमानमाथि संसद्मा छलफल भएको छ ।

आजदेखि शुरु भएको छलफलमा सहभागी सत्तापक्ष र विपक्षका सांसदहरुले बजेटमा रहेका कार्यक्रम स्वागतयोग्य भए तापनि केही अपुग भएको बताएका छन् ।

आजको छलफलमा २८ जना सांसदहरुले भाग लिएका थिए । यो भने सबै सांसदहरुले बजेटले अत्याधुनिक कृषिलाई समेटेको भएतापनि यसमा मलजलको भने विषय प्रस्तुत नभएको र यसलाई थप्न संसद्मार्फत आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेललाई आग्रह गरेका थिए । पहिलो बजेट भएकाले केही अपुगजस्तो लागेको सबै सांसदहरुको भनाइ थियो ।

राप्रपाका सांसद रिता माझीले यो बजेटले संघीयताको उपेक्षा गरेकाले संघीयता नटिक्ने र आफू र आफ्नो दलले त्यही चाहेको बताएपछि उनीन्दा पछाडि बोल्ने सांसदहरुले यस्तो कसैलाई नलागेको भन्दै विरोध जनाएका थिए।

सांसदहरु राजेन्द्र पाण्डे, बुद्धिमान माझी, राधा घले, रमेश पौडेल, सुरेन्द्रराज गोसाइँ, रिता माझी, नारदबहादुर सिलवाल, हीरानाथ खतिवडा, मणिराम फुयाँल, न्हुच्छेनारायण श्रेष्ठ, लालकुमारी पुन, प्रभात तामाङ, गणेशप्रसाद दुलाल, प्रेमबहादुर पुलामी, शशिजंग थापा, सीता अधिकारी, वसन्तप्रसाद मानन्धर, ओमबहादुर घलान, योगेन्द्रप्रसाद संग्रौला, राजेश शाक्य, सरस्वती बस्नेत, विजय सुवेदी, शान्ति थिङ, केशवप्रसाद पोखरेल, चेतनाथ संजेल र जीवन खड्काले बोलेका थिए ।