अन्तर्राष्ट्रिय

चार जना सैनिकको मृत्यु

त्रिपोली । लिबियाको पूर्वीसहर दार्नामा अतिवादी समूह विरुद्ध भएको झडपमा परी चार जना लिबियाली सैनिकको मृत्यु भएको सैनिक स्रोतले आइतबार जानकारी दिएको छ ।

शनिबार साँझ दर्नामा सरकारी सेनामाथि अतिवादी विद्रोहीले हमला गरेका थिए । सैनिक गस्तीका क्रममा भएको यस हमलाका क्रममा ती सैनिक मारिएका छन् ।

यस झडपको क्रममा अन्य कैयौँ व्यक्ति घाइते भएको सैनिक स्रोतले जानकारी दिएको छ । हाल झडप जारी नभएको भएपनि सैनिक बलतर्फ ठूलो क्षति भएको स्रोतले जानकारी दिएको छ ।

गत बिहीबार पनि दार्नामा नै अतिवादी समूह र लिबियाली सैनिकबीच भएको झडपको क्रममा कम्तीमा चार सैनिकको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएका थिए ।

उक्त क्षेत्रमा पछिल्लो समयमा सेनाले कडा मात्रामा गस्ती गर्ने गरेको तर विद्रोहीले भने सेनामाथि नै आतङ्ककारी हमला गर्ने गरेका छन् ।

राष्ट्रसंघीय दूत यमनमा

यसैबीच प्राप्त एक समाचारअनुसार संयुक्त राष्ट्रसंघका एकजना विशेष दूत आइतबार यमन पुगेको समाचार छ ।

यमनका लागि तोकिएका विशेषदूत मार्टिन ग्रफ्थ आइतबार यमनको राजधानी साना पुगेको बताइएको छ ।

उनी यो जुन महिना मै दोस्रो पटक साना पुग्नुभएको समाचारमा जनाइएको छ । उनले यहाँका विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि पहल गर्न त्यहाँ पुगेको अनुमान गरिएको छ ।

विशेषदूत मार्टिनले पनि आफूले यहाँका विद्रोहीलाई शान्ति प्रक्रियाका लागि वार्तामा ल्याउन पहल गर्ने बताएका छन् ।