समाचार

सरकारलाइ प्रतिनिधिसभा बैठकमा सांसदले लगाए गम्भीर आरोप

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।

विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विषयमा भएको छलफलमा भाग लिँदै सांसद दुर्गाबहादुर रावलले सरकार नीति, विधि र थितिअनुसार नचलेको आरोप लगाए ।

सांसद राजकिशोर यादवले सरकार मधेशसँग अनुदार भएको, सिरहा जिल्लालाई सौतेनी आमाको व्यवहार गरेको तथा आफ्नै दलका सांसदलाई पनि धेरै नबोल्नू भनी दिएको निर्देशन अधिनायकवादको चरित्र भएको बताए ।

सांसद विमलप्रसाद श्रीवास्तव, घनश्याम खतिवडा, विमला नेपाली, रेनुका गुरुङ र बिनादेवी बुढाथोकीले महिला हिंसाका घटना बढेको, सरकारसँग ग्रामीण विकासको ठोस नीति नभएको, वनविनाश नरोकिएको, नदीनाला प्रदूषित हँुदै गएको तथा चोरी शिकारी बढ्दै गएको बताए । सांसद लीलानाथ श्रेष्ठ र तिलबहादुर महतले कर्णाली प्रदेशलाई केन्द्रीय सरकारले उपेक्षा गरेको बताए ।