समाचार

सोरु गाउँपालिका सडक सञ्जालमा

मुगु । मुगु जिल्लामा रहेको सोरु गाउँपालिका सडक सञ्जालमा जोडिएको छ ।

जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागितामा सफल रुपमा चारपाङ्गे्र जीप सञ्चालन गरिएपछि यो गाउँपालिका सदरमुकामसँगै सडक सञ्जालमा जोडिएको जानकारी दिइएको हो ।

ग्रामीण पहुँच कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा आर्थिक वर्ष २०७० फागुण २२ गतेबाट गमगढी गिलाह धुलाचौर सडकको निमार्ण कार्य शुरु भएको थियो । शुक्रबार गमगढी गिलाह २३ किमीमध्ये १७ किमी सडकमा सवारी साधान परीक्षणको रूपमा सञ्चालन गरिएको थियो ।

उक्त गाउँपालिकामा सडक पुगेसँगै नगरपालिका र गाउँपालिका एकापसमा जोडिएका छन् ।

सडक जोडिएसँगै सोरुगाउँपालिकामा उत्पादन हुने मास, सिमी, जडीबुटी र फलफूल जिल्ला सदरमुकाममा बिक्री वितरण गर्न र विकास निर्माणका सामग्री लिन सहज भएको गाउँपालिका प्रमुख लोगबहादुर शाहीले बताए ।

नगरप्रमुख हरिजंग शाहीले जनताको सहभागितामा उपकरणबिना गुणस्तरयुक्त सडक बनाएकामा ग्रामीण पहुँच कार्यक्रमलाई धन्यवाद दिँदै आफ्नो नगर क्षेत्रमा आगामी वर्षबाट यही कार्यक्रमबमोजिम सडक निर्माण गर्ने बताए ।

सडक निर्माणमा ७० समूहका एक हजार ५०० कामदार खटिएको र चार वर्षमा रु ३८ करोड खर्च भएको कार्यक्रमका प्रमुख मोहान रुवालीले बताए । उनले यो परीक्षणमात्र भएकाले कच्चे गाउँको तल रहेको ५०० मिटर पहरा फोरेपछि दुई महिनामा गिलाहमा २३ किलोमिटरमा सडक पुग्ने र आगामी पुस महिनामा यो सडक सञ्चालनमा ल्याइने बताए ।

मान्छेले काम गरेर गाडी गुड्ला भनेर आफूले नसोचेको सडक निर्माणमा सक्रिय निगाले गाउँकी कामदार जानसर खड्का बताए । सडक बनाउँदा आफ्नो गाउँमा प्रायः सबै घरले कम्तीमा रु सात आठ लाख कमाएको बताउँदै गाडी पुगेपछि सदरमुकाममा तरकारी बेच्न सहज हुने उनले बताए । यो गाउँमा जिल्लाकै नमूना तरकारीखेती हुने गरेको छ ।