स्वास्थ्य

निःशुल्क स्वास्थ्य परीक्षण

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा अभ्युदय स्वास्थ्य सेवा केन्द्र स्थापनाका अवसरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा ५६८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

शनिबारबाट शुभारम्भ भएको स्वास्थ्य सेवा केन्द्रको उद्घाटनका अवसरमा आयोजित शिविरमा बालरोग, नशा रोग, हाडजोर्नी, स्त्रीरोग तथा प्रजनन स्वास्थ्य, जनरल स्वास्थ्य एवं दन्त परीक्षण गरिएको केन्द्रका भाइकृष्ण श्रेष्ठले जानकारी दिए ।

शिविरमा ल्याब, एक्स–रे, फिजियोथेरापी, इसिजी। सेवासमेत निःशुल्क गरिएको थियो भने औषधि पनि निःशुल्क वितरण गरिएको श्रेष्ठले जानकारी दिए ।

केन्द्रले आगामी दिनमा पनि ज्येष्ठ नागरिकलाई ल्याब, एक्स–रे, फिजियोथेरापी, इसिजी परीक्षणमा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको उनले बताए ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै आफ्नै गाउँटोलमा स्वास्थ्य संस्थाहरु सञ्चालनमा आएपछि उपचार गर्न टाढा जानुपर्ने बाध्यता कम हुने उनले बताए ।

त्यसैगरी, रक्तदान कार्यक्रममा ५६ जना रक्तदाताले रक्तदान गरेका थिए ।