राजनीति

स्थायी कमिटी बैठकमा चीन भ्रमणबारे जानकारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे जानकारी गराइएको छ ।

बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो भ्रमण फलदायी र ऐतिहासिक हुने अपेक्षासहित जानकारी गराएका हुन् । प्रधानमन्त्री ओली यही असार ५ गते छिमेकी चीनको भ्रमणमा जाँदै छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको पहिलो स्थायी समिति बैठकले विगतमा चीनसँग भएको दुई पक्षीय सहमतिको कार्यान्वयन र सम्बन्धलाई थप विकास हुने अपेक्षा व्यक्त गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टी एकताको उत्साहलाई देशव्यापी बनाउन र संगठनात्मक संरचनालाई चाँडो किनारा लगाउन बैठकले जोड दिएको छ । बैठकमा सरकारको बजेट, नीति कार्यक्रम र कार्य प्रगतिबारे समीक्षा भएको छ । हालसम्मका सरकारका काम सन्तोषजनक भएको र देखिएका कमजोरीलाई आत्मसमीक्षा गर्दै प्रभावकारी बनाउने निर्णय भएको छ ।

बैठकमा दुवै अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनचाहनाबमोजिम सरकारलाई थप प्रभावकारी बनाउन र सिङ्गो पार्टीलाई एकताबद्ध बनाउन निर्देशन दिएका थिए ।

बैठकले पार्टी नियमावलीबारे १० दिनभित्र सुझाव दिन स्थायी समिति सदस्यको सुझाव लिई अन्तिमरुप दिन सचिवालयलाई जिम्मा दिएको छ । बैठकमा महासचिव विष्णु पौडेलले एकतापछिको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेकाथिए ।

तत्काली नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो ।