पर्यटन/संस्कृति

कोटभैरव मन्दिरका गुठीजग्गा समिति मातहत ल्याइने

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–३३, भरतपोखरीस्थित मल्लकालिन कोटभैरव मन्दिरका गुठी जग्गा कोटभैरव मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिको मातहतमा ल्याइने भएको छ ।

समितिको आज यहाँ आयोजित वार्षिक साधारणसभा एवं विशेष पूजा कार्यक्रममा मन्दिरका नाममा सयौं रोपनी गुठी जग्गा रहेपनि त्यसलाई व्यवस्थित गर्न नसकिएका कारण भएका जग्गाको खोजी गरी त्यसलाई समितिको मातहतमा ल्याइने समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिए ।

“समितिका नाममा महानगरभित्र नै अनुमानित ५०/६० रोपनी जग्गा रहेपनि हालसम्म यकिन तथ्य पाउन सकिएको छैन,” उनले भने, “स्थलगत रुपमा नै पुगी जग्गाको खोजी गर्ने र त्यसलाई समितिको मातहतमा ल्याउनुका साथै यहाँको समग्र विकासका लागि गुरुयोजना निर्माण गरिनेछ ।”

साधारणसभामा समितिका उपाध्यक्ष गुरुप्रसाद पौडेल, सचिव कमलप्रसाद पौडेल, कोषाध्यक्ष सन्तबहादुर थापा, चण्डी माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमबहादुर महत, वासुदेव पौडेल, लोकबहादुर लामिछाने, कर्णकुमारी महत लगायतले कोटभैरव मन्दिरको ऐतिहासिक महत्वलाई उजागर गर्दै यसलाई विशिष्ट धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिनेमा जोड दिए ।