देश

चौंरी गोठ व्यवस्थापनमा ध्यान दिनुपर्छ

सल्लेरी, सोलुखुम्बु । सात वर्ष पहिला सोलुदूधकुण्ड नगरपालिका– ४ का याङ्जी शेर्पाको घरमा २० वटा चौरी गाई थिए । तर अहिले ती चौरी गाई बस्ने गोठ पूरै रित्तो छ ।

याङ्जी शेर्पाको गोठ मात्र होईन, यहाँका अधिकांश कृषकले त्यो बेला निर्माण गरेको चौरी गाईबस्ने गोठको केवल भग्नावशेष मात्र देख्न सकिन्छ ।

पछिल्लो समय यहाँका किसानमा व्यावसायिक चौरीपालनप्रतिको मोहमा कमी आएको देखिन्छ । केही वर्षयता चौरीपालनको आकर्षण घटेसँगै यो व्यवसाय नै संकटमा पर्दै गएको भनाई चौरीपालक किसानको छ ।

एक दशकअघिसम्म व्यावसायिक चौरीपालन गर्ने कृषकको संख्या उल्लेखनीय भए पनि अहिले यसमा एक तिहाईले कमि आएको स्थानीय चौरीपालक लिखुपिके १ का दावा शेर्पाले बताए ।

उनले भने, “लिखुपिकेको पिके र झाप्रे क्षेत्रमा मात्र करिब २० घरले चौरी पालन गथ्र्ये तर अहिले जम्माजम्मी ६ घरले मात्र पालेका छौ, हामीले पालेको चौरीगाईको संख्यामा पनि धेरै कमी आएको छ ।”

जिल्लाको लिखुपिके गाउँपालिकामा पर्ने पिके, झाप्रेलगायत अन्य केही माथिल्लो क्षेत्रमा व्यावसायिक चौरीपालन गरिन्छ । पछिल्लो समय खर्कको अभाव, जंगली जनावरबाट बचाउन नसक्नु, दूध, दहीलगायत अन्य उत्पादनको उचित मूल्य नपाउने लगायतका कारण चौरी गाईपालनतर्फ आफूहरुको मोह कम भएको साविक गोली– ८ का तेण्डुप शेर्पाको भनाइ छ ।

उनले भने, “युवा स्वरोजगारसँगै व्यावसायिकताका लागि सरकारले यसको स्पष्ट नीति निर्माण गर्नु आवश्यक छ ।”

चौरीपालनमा कमी आएसँगै घ्यूको मूल्यमा वृद्धि

सोलुखुम्बुमा चौरी पालनमा आएको कमिसंगै यसकोे घ्यूको मूल्यमा वृद्धि भएकोे छ ।

चौरीको घ्यूको मागमा वृद्धि भएपछि यसको मूल्य बढेको व्यापारी बताउछन् । घ्यू मात्रै हैन, चौरीको दूध र महीबाट बन्ने चिजको समेत मूल्य बढेको छ ।

विगत ६ वर्षदेखि चौरीको घ्यू बिक्री गर्दै आउनुभएका सोलुदूधकुण्ड नगरपालिका– ३ का मिङ्मार शेर्पा भन्, “बजारमा ग्राहकको माग बढी छ तर चौरी गोठमा घ्यू छैन ।”

विगत वर्षमा एक पटकमा चौरी गोठबाट २०० केजीसम्म घ्यू संकलन गर्न सकिने भए पनि केही वर्षयता ५० केजी बल्ल संकलन गर्न सकिन्छ ।

चालु आर्थिक वर्षमा मात्र घ्यूको मूल्य एक सयले वृद्धि भई रु ९ सय प्रति केजी पुगेको छ । यही अनुपातमा चौरीको दूधको अन्य परिकारमा समेत वृद्धि भएको बेनी सोलुखुम्बुका कुङ्गा शेर्पाको भनाइ छ ।

चिज उत्पादन घट्यो

यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइँ चौँरीगाईको दूधबाट उत्पादित चिज हो । निकै स्वादिलो मानिएको स्थानीय चिज पर्यटक मात्र होइन, यहाँका बासिन्दाले पनि खोजी÷खोजी किन्छन् । जिल्ला बाहिर जानेले कोसेलीका रुपमा चिजलाई लैजाने गरेका पनि छन् । तर पछिल्लो समय चिज उत्पादनमै कमी आएको पिके चिज उत्पादन केन्द्रका इन्चार्ज कर्णबहादुर जिरेल बताउँनछन् ।

“केन्द्रको उत्पादन क्षमता वार्षिक १२ हजार किलोबाट घटेर एक हजार किलोमा सीमित छ,” उनले भने, “चौँरीगाई पाल्ने कृषक घटेका कारण दूध उत्पादनमा कमि आएको हो ।”

सरकारले जिल्लामा चिज उत्पादनका लागि डेरी सञ्चालन गरेको ६० वर्ष तथा फार्म सञ्चालन गरेको ४३ वर्ष भयो । दुग्ध विकास संस्थान, लैनचौरले विसं २०१३ मा तत्कालीन गोली गाविसमा स्थापना गरेको पिके चिज उत्पादन केन्द्र विगत १० वर्षदेखि घाटामा छ ।

यसैगरी निजी क्षेत्रद्वारा करिब २० वर्षदेखि तत्कालीन टाँक्सिन्दु गाविसको रिङ्मुमा सञ्चालित नुम्बुर भ्यू चिज उद्योगले वार्षिक एक हजार दुई सय किलो चिज उत्पादन गर्दैआएको छ । चिज उद्योगका सञ्चालक फु ग्याल्जेन शेर्पा चिज उत्पादनका लागि ४० वटा चौँरीगाई पालेको बताउन्छन् । एक किलो चिज उत्पादनका लागि करिब १० लिटर दूध आवश्यक पर्ने उद्योगका सञ्चालक शेर्पाको भनाइ छ ।

विसं २०३० मा याक ‘गोरु’, नाक ‘गाई’ को संख्या वृद्धि गर्ने तथा दुग्धजन्य पदार्थको उत्पादन गर्ने उद्देश्यसहित तत्कालीन खुम्जुङ गाविसमा स्थापना गरिएको स्याङ्बोचे याक विकास फार्मले हालसम्म दुग्धजन्य वस्तुको उत्पादन गर्न सकेका छैनन् ।

दुई सय ९३ रोपनीमा फैलिएको उक्त फार्मको करिब ५० प्रतिशत जग्गा उपयोग भए पनि बाँकी जग्गा त्यत्तिकै छ । अहिले १६८ रोपनी जग्गा घाँस उत्पादन र चरन क्षेत्रका रुपमा प्रयोग भइरहेको सो फार्मका प्रमुख ललन यादवले जानकारी दिए ।

याक र नाकको संख्या घट्दै गइरहेका बेला नेपाल–चीन सीमा क्षेत्र नाङ्पालापास हुँदै तिब्बतबाट केही वर्षअघि पाँचवटा याक र २५ वटा नाक ल्याएपछि सो संख्यायामा वृद्धि भई ९५ वटा पुगेको छ ।

चौरीपालन व्यवसाय घट्दै जाने हो भने निकट भविष्यमा चौरीको दुध र त्यसबाट बनेको विभिन्न परिकार पाउन मुस्किल पर्ने बताइएको छ । त्यसैले चौरीपालनका लागि युवा पुस्तालाई आकर्षित गराउन विशेष कार्यक्रम नै सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।

बजारको माग बमोजिम चौरीको दूध, घ्यू, चिज, छुर्पि लगायत परिकारको सहज आपूर्ति गर्न सक्यौ भने स्वरोजगारसँगै अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने विश्वास यस क्षेत्रका चौरीपालक किसानको छ ।