स्वास्थ्य

उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

वाग्मती सफाइ महाअभियानको २६६ औँ हप्तामा शान्तिनगरस्थित भिएस निकेतन अघिको नदी क्षेत्रमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन भयो ।
सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाई, ठकुरी समाज, सशस्त्र प्रहरी श्रीमती संघ, ओशो तपोवनलगायत संस्थाका गरी ४२५ भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी नारायणकुमार श्रेष्ठले राससलाई जानकारी दिए ।

वाग्मती सफाइमा ब्लुक्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । सो अवसरमा नदी किनारमा समी, विभिन्न जातका फूलका वृक्षरोपण गरियो ।

सफाइमा २३ संस्थाको संस्थागत सहभागिता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२७ औँ हप्ताको कार्यक्रम गोकर्णेश्वर नगरपालिका–१ र कागेश्वरी मनोहरा नगरपालिका–३ स्थित वाग्मती पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा कागेश्वरी मनोहरा नगरपालिकाका वडा १, २ र ३ कार्यालयको विशेष सक्रियता देखाएका थिए ।

नगरपालिकाकी उपप्रमुख बिन्दु सिम्खडा पुडासैनी, वडा नं १, २ र ३ का अध्यक्ष क्रमशः मुकुन्द गजुरेल, सुदर्शन धिमाल र राममणि पुडासैनीको पनि सफाइमा सक्रियता थियो ।

सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिए । नकुहिने फोहर कागेश्वरी मनोहरा नगरपालिकाको महिला जागरण समूहले व्यवस्थापन ग¥यो । कुहिने फोहर खाडल खनेर पुरियो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत र आयोजना प्रमुख आशिष घिमिरे पनि सहभागी भए । सो अवसरमा नगर उपप्रमुख र तीनै जना वडाध्यक्षले मुहानबाट नदी सफा गर्ने अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सफाइमा वाग्मती सुन्दरता सरोकार मञ्च, पुडासैनी मैत्री समाज, राम्रो जोरपाटी, हाम्रो जोरपाटीलगायत स्थानीयवासी गरेर २०० भन्दा बढीको सहभागिता थियो ।

रुद्रमती सफाइको २२१ औँ हप्तामा रातोपुल–रुद्रनगर–बत्तीसपुलती–राममन्दिरसम्मको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायतको संस्थागत सहभागितासहित २०० भन्दा बढी अभियन्ताको सक्रियता रहेको अभियन्ता रोहित गिरीले जानकारी दिए ।

विष्णुमती सफाइ अभियानको १९३ औँ हप्तामा टोखा नगरपालिकाको सिद्धेश्वरबाट सफाइ शुरु गरी नयाँबसपार्क क्षेत्रसम्म सफाइ गरियो । सफाइमा नेपाली सेना, विद्यार्थी र अभियन्ता गरी ३०० भन्दा बढी व्यक्तिको सहभागिता थियो ।

सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी बिजेन लामाले जानकारी दिए । वाग्मतीको तिलगंगा क्षेत्र सफाइ अभियानको १६८ औँ हप्तामा तिलगंगा आँखा अस्पताल अघिको नदी किनारमा जनचेतनामूलक सफाइ गरियो । सफाइका क्रममा प्लाष्टिक नजलाउन पनि अनुरोध गरिएको सफाइ संयोजक आशा पाण्डेले बताए । सफाइमा काठमाडौँ महानगरपालिका–८ का सदस्यको पनि सहभागिता थियो । सफाइका क्रममा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सुन्दरीघाटस्थित वाग्मती नदी किनार सफाइको ७६ औँ हप्तामा ल्याबोरेटरी विद्यालयबाट इण्डियन मोर्डन विद्यालय अघिको नदी किनारसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता चित्र सुनुवारले जानकारी दिए ।

सिर्जनशील समाजको नेतृत्वमा भएको सफाइमा १०० भन्दा बढी अभियन्ताको सहभागिता थियो । मनोहरा नदी सफाइको ६४ औँ हप्तामा आज पनि काठमाडौँ महानगरपालिका–३२ स्थित बिपी नेत्र अध्ययन केन्द्र अघिको नदी किनारमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता चन्द्र दंगालले जानकारी दिए । सफाइमा १०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

चक्रपथ सफाइको ६२ औँ हप्तामा बालाजुचोकबाट वनस्थलीसम्म सफाइ गरियो । सफाइमा नेपाली सेनाको महाराजगञ्जस्थित पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्शलगायत संस्थाका गरी ३५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको सफाइ संयोजक लोकबहादुर टण्डनले बताए । आजको सफाइबाट १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइसँगै चक्रपथको सडक किनारमा निर्माण व्यवसायी पसलेले थुपारेको बालुवा, गिट्टी, रडलगायत सामग्री काठमाडौँ महानगरपालिकाले हटायो । बालाजु चोकमा वर्षौंदेखि ग्यारेज गरेर राखिएको प्रेस इमेज च्यानल लेखिएको एउटा गाडी र निजी नम्बर प्लेटको अर्को सवारी पनि व्यवस्थापन गरियो ।

काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगर सफाइको ६२ औँ हप्तामा मातृशक्ति सफाइ समूहले जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरेको संयोजक प्रमिला पौडेलले जानकारी दिए । आलोकनगर क्षेत्रबाट सफाइ गर्दै समूह शान्तिनगरस्थित वाग्मती सफाइ महाभियानमा सहभागी भयो । सो क्रममा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर क्षेत्रमा फोहरलगायत अव्यवस्था देखिएको अभियानकर्मी पौडेलले बताए । सफाइबाट एक मेट्रिक टन फोहर उठाइयो ।

चक्रपथ बाफलखण्ड सफाइको ४४ औँ हप्तामा सीतापाइलाचोकबाट स्युचाटारपुल क्षेत्रसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । सडकमा फोहर थुपार्नेलाई नै उठाउन लगाइएको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।
विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाभियानबाट प्रभावित भई हालसम्म देशका ९४ स्थानमा सफाइ शुरु भएको छ । देशभर भएका सफाइ अभियानबाट २० हजार मेट्रि«क टनभन्दा बढी फोहर व्यवस्थापन भएको छ । फोहरको परिमाण उपत्यकामा काठमाडौँ, ललितपुर महानगरपालिका एवं अन्य नगरपालिकाका सवारीले उठाउँदा मापन गरिएका आधारमा तथ्यांक सार्वजनिक गर्ने गरिएको सफाइ महाअभियानले जनाएको छ ।

अहिलेसम्म पाँच लाखभन्दा बढी मानिस सफाइमा सहभागी भएका छन् । सफाइ महाभियानको अनुरोधमा सरकारले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्षसमेत घोषणा गरेको छ ।

वाग्मती सफाइ महाभियानले २०० वर्ष प्रवेश गरेका अवसरमा सरकारले सरसफाइ घोषणापत्र नै जारी गरेको थियो । सफाइ अभियानलाई स्वयंसेवी कामका रुपमा देशभर विस्तार गर्ने सन्दर्भमा छलफल भइरहेको जनाइएको छ ।