आर्थिक

शेयर बजार : एक अर्ब बढीको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७२ करोड पाँच लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता कूल ४८ लाख ६८ हजार ७० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा दुई दशमलव १४ प्रतिशत बढी हो । गत साता १७९ कम्पनीको ४० लाख २६ हजार ८१० कित्ता शेयर रु एक अर्ब ६८ करोड ४५ लाख छ हजार खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ दशमलव ६६ अंकले बढेर अन्तिम दिन एक हजार २४७ दशमलव ३० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुई दशमलव ६५ अंकले बढेर २६१ दशमलव ८१ अंकमा पुगेको छ ।

यस साता कारोबार रकमका आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु नौ करोड ९७ लाख ७० हजार बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि सोही बैंक अग्रस्तानमा रहेको छ । सो बैंकको चार लाख ६५ हजार कित्ता शेयर कारोबार भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

विभिन्न छ कम्पनीका शेयर सूचीकृत

यस साता रैराङ हाइड्रोपावर कम्पनीको ५६ लाख कित्ता साधारण शेयर, प्राइम लाइफ इन्स्योरेन्सको ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद र १९ लाख ८३ हजार १५० कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएका छन् ।

यस्तै मल्टीपर्पस फाइनान्स कम्पनीको एक लाख ६४ हजार ७३६ कित्ता बोनस र सिद्धार्थ बैंक लिमिटेडको ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद र बेस्ट फाइनान्स कम्पनीको १६ लाख ५२ हजार ८५० कित्ता हकप्रद शेयर स्टकमा सूचीकृत भएका छन् ।