पर्यटन/संस्कृति

एक महिने रमजान अन्त्य गरी इद उल फित्र मनाइँदै

काठमाडौँ । एक महिने रमजान पर्व समापन भएको अवसरमा आज नेपालभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी इद उल फित्र पर्व मनाएका छन् ।

यो पर्व मनाएपछि रमजानको एक महिने व्रत सकिन्छ । इदको अर्थ खुशी मनाउनु भएको नेपाली जामे मस्जिदका अध्यक्ष मोहम्मद समिमले राससलाई जानकारी दिए ।

अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन देशभर मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने गर्छन् ।

दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूला बडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आर्शीवाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

खुशीपूर्वक दान गरेर दिन दुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । यस अवसरमा आज बिहान स्नान गरी नयाँ कपडा लगाएर नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरेपछि ठूलाबडाकहाँ आर्शीवाद लिने क्रम शुरु भएको छ । यो पर्वको अर्को उल्लेखनीय पक्ष दिन दुःखी र गरीबलाई दान दिनु हो ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको वचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दिन दुःखी एवं गरीबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ ।

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दिन दुःखी र गरीबलाई नै दिइन्छ ।

यस पर्वका उपलक्ष्यमा सरकारले विगत वर्षमा सार्वजनिक बिदा दिने गरे ण्पनि यस वर्ष काटिएकामा मुस्लिम समुदायले विरोध जनाएका छन् । गत जेठ ३ गतेदेखि मुस्लिम समुदायको एक महिना लामो व्रत ९रोजा० शुरु भएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन यो व्रत गरिने मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलिले बताए ।
यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् ।