स्वास्थ्य

हनुमन्ते सफाइमा नौ टन फोहर संकलन

भक्तपुर । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज १६ औं हप्तामा नौ टन फोहर संकलन गरिएको छ । मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाको सिमानामा रहेको थिमि चार दोबाटोबाट बालकोट जाने सडकमा रहेको हनुमन्ते नदीको पुल र त्यस क्षेत्रमा सरसफाइ गरिएको थियो ।

आजको सरसफाइमा हनुमन्तेमा फोहर फाल्नेलाई कडा कारबाही गर्न र हनुमन्तेलाई हराभरा बनाउन नगरपालिकाले कार्यक्रम नै बनाएर लागू गर्नुपर्नेमा जोड दिइयो ।

सूर्यविनायक नगरपालिकाको नेतृत्वमा शुरु भएको अभियानमा नगर प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत लगायत नेकपा, नेपाली काँग्रेसलगायतका पार्टीका प्रतिनिधि, जिल्लाका विभिन्न संघ संस्था, नगरपालिका, विद्यार्थी, स्थानीय बासिन्दा र अभियन्ताको सक्रिय सहभागिता रहेको हनुमन्ते सफाइ अभियन्ता पुष्कर गजुरेलले जानकारी दिए ।

२०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा आजसम्म २२५ टन फाहोर संकलन भएको उनले जानकारी दिए ।