पर्यटन/संस्कृति

गोसाइँकुण्डमा तीन हजारले स्नान गरें

रसुवा । रसुवाको गोसाइँकुण्डमा तीन हजार भक्तजनले स्नान गरेका छन् । चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङका अनुसार गंगादशहरा र पुरुषोत्तम महिना परेका कारण जेठमा तीन हजारको हाराहारीमा भक्तजनले गोसाइँकुण्डमा स्नान गरेका हुन् ।

समुद्री सतहदेखि १४ हजार फिटको उचाइमा अवस्थित पौराणिक एवं धार्मिक तीर्थ गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्नाले अञ्जानमा भएगरेका सबै पाप मोक्ष हुने, नयाँ जोस जाँगर बढ्ने तथा घर परिवारमा सुख शान्ति मिल्ने धार्मिक विश्वस रहेको पुरोहित टंकप्रसाद ढकालले बताए।

सो समयमा यस वर्ष काठमाडौँ, भक्तपुर, ललितपुर, झापा, पाँचथर, कास्की, धादिङ, चितवन, मकवानपुर, धनुषा, बारा, पर्सा नवलपरासी, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप लगायत मुलुकभरबाट भक्तजन आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जनाएको छ ।

मेला अवधिभर वर्षा र हिमपातको समस्या नआएको, खान बस्नलाई सहज भएको र मौसम सफा भएका कारण यात्रुलाई हिमाली प्रकृतिको छटा अवलोकन गर्न समेत अत्यन्तै सहज भएको तीर्थालुले बताएका छन् ।

रसुवा जिल्लाको उच्च भागमा अवस्थित गोसाइँकुण्ड जाने तीर्थालु धुन्चेबाट हिँडेपछि दुई दिन लगाएर तीर्थ पुग्ने गरेको र पहिलो रात चन्दनबारीमा बिताएपछि शरीरमा हिमाली हावापानी मिल्ने गई लौरोबिना उकालो हिँड्न अत्यन्तै सहज भएको यात्रु धर्मथापाले जानकारी दिए ।

गत जेठ २ गतेदेखि ३१ गतेसम्म पुरुषोत्तम मेला लागेको हुम्लामा आउने भन्दा फाटफुट आउने यात्रुलाई सेवा दिन सहज हुने होटल व्यवसायी सुब्बा लामाले बताए।

त्यस्तै जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा यही भदौ १० गते लाग्ने मेलामा २० हजार भक्तजन आउने लक्ष्य राखिएको छ । उनीहरुका लागि आवश्यक पर्ने खाद्यान्न व्यवस्थापनका लागि धार्मिक मार्गका होटल व्यवसायी अग्रसर भइसकेको चन्दनबारीस्थित याक एण्ड नाक होटल सञ्चालक पासाङघ्युर्मी तामाङले बताए ।