देश

विपद् व्यवस्थापन कार्ययोजना तयार

ताप्लेजुङ । पहिरोको उच्च जोखिममा रहेको ताप्लेजुङमा मनसुनबाट हुनसक्ने विपद्लाई मध्यनजर गर्दै यसको प्रतिकार्यका लागि पूर्व तयारीस्वरुप २२ बुँदे आपतकालीन मनसुन कार्ययोजना तयार गरिएको छ ।

मनसुनको समयमा हुनसक्ने क्षतिको सम्भाव्यता अध्ययन गर्दै यसको रोकथाम र भइहाले तत्काल उद्धार र व्यवस्थापन गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिले उक्त कार्ययोजना तयार गरेको हो ।

विभिन्न संघसंस्था सम्मिलित–९ वटा समूहले उक्त कार्ययोजना अनुसारका कार्य गर्ने गरी व्यवस्थापन मिलाइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । यसका लागि खाद्य तथा पोषण समूह, खानेपानी तथा सरसफाइ, स्वास्थ्य तथा पोषण, संरक्षण, शिक्षा, खोज तथा उद्धार, आवास, गैर खाद्य र सञ्चार समूह नै बनाइएको छ ।

बाढी पहिरोको जोखिममा परेका क्षेत्रको तथ्यांक संकलन र अध्ययन, उद्धार व्यवस्थापनका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय गर्ने, प्रत्येक स्थानीय तहले आ–आफ्नो मनसुन प्रतिकार्य योजना बनाउने लगायतका बुँदा कार्ययोजनामा समेटिएका छन् ।

यस्तै एक सय जनालाई कम्तीमा तीन दिनसम्म पुग्ने खाद्यान्न मौज्दात गर्ने, सम्भावित सहयोगी संस्थाको सूची तयार गर्ने, प्राथमिक उपचारका लागि व्यवस्थापन गर्ने आदी विषयसमेत कार्ययोजनामा समेटिएका छन् । यो वर्षको मनसुन अवधिभर नै यो कार्ययोजना लागू हुने जनाइएको छ ।

यस्तै जिल्लाभित्र मनसुनबाट हुने विपद्को जोखिममा रहेका क्षेत्रको समेत पहिचान गरिएको छ । एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङका साविकका २७ वटा गाविसलाई उच्च जोखिमको क्षेत्रको रुपमा पहिचान गरिएको छ भने १३ वटालाई मध्यम र ९ वटालाई न्यून जोखिमको क्षेत्रमा समेटिएको छ ।

यता केही वर्षअघि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले गरेको अध्ययनले पनि ताप्लेजुङ पहिरोको उच्च जोखिममा रहेको देखाएको थियो । उक्त अध्ययनका अनुसार यस क्षेत्रका ८० प्रतिशत नागरिकले सुरक्षित ठाउँ नभएकाले जोखिम हुँदाहुँदै पनि त्यही क्षेत्रमा बस्न बाध्य भएको बताएका थिए, भने ९० प्रतिशतले खानेपानी र सिँचाइका लागि पानीको अभाव भएको बताएका थिए ।