राजनीति

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिए ।

नेकपाको संसदीय दलको आज प्रधाननमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै क्षेत्रका जनता र प्रतिनिधिका सबै आवश्यकता र चाहना बजेटले समेट्न नसके पनि समृद्धिको आधार तयार गर्न सरकारको बजेट सकारात्मक रहेको बताउँदै असन्तुष्टि भएमा संसद्मा नभई पार्टीमा राख्न आग्रह गरे ।

प्रतिनिधिसभाका बैठकमा बजेटमाथिको छलफलका क्रममा कतिपय सत्तारुढ दलकै सांसदले बजेटको आलोचना गरेपछि अध्यक्ष ओलीले सो आग्रह गरे । ओलीले भने, “तपाईहरुका असन्तुष्टि र भनाइ जायज हुन सक्छन्, मेरै निर्वाचन क्षेत्रमा पनि के के प¥यो, परेन मैले सोचेजस्तो नभएको हुनसक्छ । अघिल्लो सरकारले अर्थतन्त्रलाई असन्तुलित बनाई दायित्व छाडेर गएकाले हामीलाई समस्या परेको हो । हामी यसलाई सही बाटोमा ल्याउने प्रयासमा छौँ ।”

उनले भाडामा पर्याप्त खाना नभएपछि केटाकेटीलाई जन्ते बाख्र्रो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र परे झैँ भान्छेलाई बाँड्न गाह्रो हुने प्रसंग उल्लेख गर्दै सरकारका काम र बजेटका असन्तुष्टि राख्न पार्टीका सांसदले नेतृत्वलाई भन्नु उपयुक्त हुने बताए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेतासहित सहभागी बैठकमा करीब ५० सांसदले बोल्नका लागि नाम टिपाउनुभएको बुझिएको छ । बैठकमा दलको नियमावली संशोधनबारे पनि छलफल हुनेछ ।

यसैबीच, संसदीय दलको बैठकपछि आजै नेकपाको सचिवालय र स्थायी कमिटीको बैठक बस्नेछ ।