पर्यटन/संस्कृति

इदः सुख, शान्ति र प्रगतिको कामना

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र) का अवसरमा देशविदेशमा रहेका नेपाली मुसलमान समुदायलाई शुभकामना व्यक्त गरे ।

पार्टी अध्यक्ष राणाले जारी गरे प्रेस विज्ञप्तिमा मुलुकमा बसोबास गर्ने सबै जाति र समुदायबीच एकता, स्नेह, सद्भाव, अपनत्व, र भाइचारा सम्बन्धलाई प्रगाढ बनाउन यस पर्वले सहयोग गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रियता, राष्ट्र एकता र अखण्डतालाई थप सबल र सुदृढ बनाउन योगदान गर्ने उल्लेख गरिएकोे छ ।

यसै उपलक्ष्यमा राप्रपाका उपाध्यक्ष दिलविकास राजभण्डारीले बहुजातीय र बहुभाषिक मुलुक नेपालमा सबैका पर्व र संस्कृतिलाई एकापसमा सम्मान गरी सद्भाव आदानप्रदान गर्नुपर्नेमा जोड दिए। एकीकृत राप्रपा (राष्ट्रवादी) का उपाध्यक्ष तारानाथ लुइँटेलले विज्ञप्तिमार्फत मुसलमानहरुको सुख, शान्ति र प्रगतिको कामना गरे ।

अरबी पात्रोको दशौँ महिनाको पहिलो दिन सो समुदायले आपसमा हार्दिकता साटासाट गरी इद मनाउँछन् । अग्रजकहाँ गएर आशीर्वाद लिने र मीठो खानेकुरा खान्छन् । अरबी पात्रोको नौ महिनालाई ‘कुरान’ अवतरण भएको पवित्र महिनाका रुपमा सम्मान गर्दै उनीहरु एक महिनाभर ब्रत बसी रमजान पर्व मनाउँछन् ।