पर्यटन/संस्कृति

भूमि पूजा शुरु

रुकुम । जमीनको पूजा गर्ने मगरको चाड भूमेपर्व शुक्रबारदेखि रुकुमपश्चिम, रुकुमपूर्व, रोल्पासहित मगरका बाहुल्य रहेका ठाउँमा शुरु भएको छ ।

रुकुम, रोल्पाका अधिकांश स्थानमा प्रकृतिपूजक मगर समुदायले धुमधामका साथ भूमेपर्व मनाउँदैछ । हरेक वर्षको जेठ महिनाको अन्तिम दिन लेकबाट फूल टिपी ल्याएपछि भूम्या पर्व शुरु हुन्छ । रुकुमको मगर समुदाय आफ्नै पहिरनमा शुक्रबार बाजागाजासहित लेकमा पुगी वन देवतालाई पूजा गरेर फूल टिपी फर्किएको छ ।

शुक्रबारदेखि मंगलबारसम्म हरेक दिन बाजागाजासहित मगर समुदायका मान्छे भूम्या नाच नाच्छन् । रुकुमपूर्वमा बसोबास गर्ने मगरसहित रुकुमपश्चिम सदरमुकाम मुसिकोट खलंगामा बसोबास गर्ने मगर समुदायले यो पर्व मनाइरहेको छ । मुसिकोट खलंगामा मगर समुदायको बसोबास बढेपछि पछिल्ला वर्षमा सदरमुकाममा पनि मनाइन्छ । मंगलबार बलि दिएर भूम्या पर्व समापन गरिन्छ । भूमि देवतालाई बलि चढाएपछि अनिष्ट नहुने र बालीनाली सप्रिने मगर समुदायमा जनविश्वास रहिआएको मगर समुदायका अगुवा भिउमान घर्तीले बताए ।
रुकुमपूर्वका मगर बाहुल्य भूमे र पुथाउत्तरगंगा गाउँपालिकासहित मुसिकोटमा यो पर्व मनाइन्छ । पर्वअन्तर्गत मगर समुदाय एक ठाउँमा जम्मा भएर हरेक दिन भूम्या नाच नाच्छ । सदरमुकाममा बसोबास गर्ने मगरहरु आफ्नो परम्परागत पहिरनमा सजिएर खलंगाको शहीद मैदानमा जम्मा भई एकापसमा रमाइलो गर्दै भूम्या नाच्छन् ।