शिक्षा

शिक्षा र विज्ञान क्षेत्रमा चिनियाँ सहयोग वृद्धिको अपेक्षा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोग गरी आर्थिक विकासको वातावरण तयार गर्नु नेपाल सरकारको उच्च प्राथामिकता रहेको बताएका छन् ।

चीनको विज्ञान प्रविधि मन्त्रालय तथा युनान प्रान्तका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको निमन्त्रणामा कुन्मिङमा आयोजित पाँचौँ चाइना साउथ एशिया एक्प्रो र तेस्रो फोरम अफ चाइना साउथ एशिया टेक्नोलोजी ट्रान्सफर र कोलाब्रेशन इनोभेशनमा सम्बोधन गर्दै मन्त्री पोखरेलले भने, “प्रविधिमा आधारित शिक्षा नेपाललाई सामाजिक र राष्ट्रिय विकासमा बलियो साधन सावित हुनेछ ।” यसका लागि नेपाल र चीनबीच द्विपक्षीय र बहुआयामिक रुपमा आगामी दिनमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

भ्रमणका क्रममा मन्त्री पोखरेलको उपस्थितिमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानसँग चीनका विभिन्न प्रतिष्ठानबीच आपसी सम्झौता भएको थियो । भ्रमणका क्रममा मन्त्री पोखरेलले सो प्रान्तको प्रमुख मानिने युनान कृषि विश्व विद्यालयको अवलोकन गरे । सम्मेलनका लागि गत जेठ ३० गते चीन गएका मन्त्री पोखरेल भ्रमण छोट्याई आज स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ ।