आर्थिक

सन्राइज बैंकको ओखलढुङ्गामा पनि शाखा

काठमाडौं । सन्राइज बैंक लिमिटेडले शुक्रबार ओखलढुङ्गाकोे सिद्घिचरण नगरपालिका वडा नं ११ मा आफ्नो ८८ औं शाखा बिस्तार गरेको छ । ओखलढुङ्गा शाखाकोे उद्घाटन ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी श्री जनक राज पन्त, सिद्घिचरण नगरपालिकाका उपमेयर श्री इच्छा कुमारी गुरुङ्ख, उद्योग वाणिज्य संघ ओखलढुङ्गाका उपाध्यक्ष पूर्ण कुमार श्रेष्ठ र बैंकका सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रले संयुक्त रुपमा गरे । बैंकले ग्राहकहरुलाई सहज रूपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले ओखलढुङ्गामा शाखा बिस्तार गरेको हो ।

साथै बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्य जुन न्यून हुन्छ सो खर्च सोधभर्ना गर्न सकिने छ । यसका साथै बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ । बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।