अन्तर्राष्ट्रिय

पत्रकार बुखारीको शवयात्रामा हजारौँको सहभागिता

श्रीनगर, भारत । भारत अधिनस्थ कश्मिरमा बिहीबार मारिएका एकजना सम्पादकको शवयात्रामा हजारौँको सहभागिता भएको छ ।

काश्मिरका पत्रकार सुजत बुखारीको बिहीबार साँझ श्रीनगरमै गोलीहानी हत्या गरिएको थियो । उनको हत्या आतङ्ककारीले गरेको अधिाकारीहरुले जनाएका छन् ।

उनी श्रीनगरका एकजना वरिष्ठ पत्रकार थिए । अङ्ग्रेजी भाषाको पत्रिका राइजिङ काश्मिर दैनिकका सम्पादक बुखारीको हत्याको कारण खुलेको छैन । कुनै समूहले सो हत्याको जिम्मेवारी पनि लिएको छैन ।

उनलाई बिहीबार साँझ आफ्ना दुई जना सुरक्षा गार्डसहित रहेको बेला गोली हानेका थिए । गोली लागेका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । गोली लागेका उनका दुई जना सुरक्षा गार्डको पनि बाटोमै निधन भएको थियो ।

उनको शवयात्रा शुक्रबार बिहान श्रीनगरको एक स्थानीय अस्तालबाट सुरु भएको थियो । त्यस क्रममा हजारौँ स्थानीय सहभागी भएका थिए ।

उनी काश्मिरमा शान्तिका लागि पहल गर्ने एकजना व्यक्ति थिए । तर अतिवादीहरुले उनको भूमिकाको आलोचना गर्ने गर्दथे ।

उनलाई बिगतमा पनि पटक पटक आक्रमणको प्रयास गरेको बताइएको थियो । सोही कारण उनलाई स्थानीय सरकारले नै अङ्गरक्षक प्रहरी दिएको थियो ।

उनले गत वर्ष दुबइमा भारतीय सरकारको नै प्रतिनिधित्व गरेर काश्मिरका विषयमा पाकिस्तानसँग वार्ता गरेका थिए । उनी ५० वर्षका थिए।

उनको निधनको भारतका विभिन्न अधिकारवादी संघसंस्था तथा पत्रकारले विरोध गरेका छन् । उनीहरुले दोषीमाथि कडा कारबाहीको पनि माग गरेका छन् ।