समाचार

खाद्यान्न अभावसँगै मूल्य वृद्धि

सल्लेरी, सोलुखुम्बु । ढुवानी समस्याका कारण सगरमाथा अञ्चलको तीन जिल्लामा खाद्यन्न तथा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ ।

खाद्यन्न र खाना पकाउने ग्यासमा मूल्यवृद्धि भएको छ, भने ढुवानीमा अवरोध भएको कारण देखाएर केही व्यापारीले कालाबजारी गर्न थालेको उपभोक्ताको आरोप छ ।

थुलुङ दूधकोशी गाउँपालिका– ९ लोखीमका सिंहबहादुर तामाङले रु १९ सयमा किनेको चामलको मूल्य वृद्धि भएर रु दुई हजार १०० पुगेको बताए । मूल्य वृद्धि हुँदा सर्वसाधारण मारमा परेका छन् ।

दैनिक उपभोग्य बस्तु दाल, चिनी, चामल, नुन र तेलको मूल्य वृद्धि भएको छ । निर्माण सामग्रीको अभाव भएको छ । सोलु दूधकुण्ड नगरपालिका–५ की करिश्मा बस्नेत मूल्य वृद्धि हुँदा दैनिकी कष्टकर बनेको बताउँछन् । उनी भन्छन्, “हरेक सामानको मूल्यमा वृद्धि भयो, खान नसकिने अवस्था छ ।”

सिद्धिचरण लोकमार्गको ठाँटी क्षेत्रमा सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ । सो क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएको छ । अहिले डिजेल र पेट्रोलको अभाव भएको छ । ग्यासमा प्रति सिलिण्डर रु १५० ले वृद्धि भएको व्यापारी दोर्जी शेर्पाले बताए ।

उनले भने, “पुराना मौज्दात सामानको मूल्य वृद्धि भएको छैन तर भर्खरै ढुवानी भएको सामानको मूल्य ढुवानीका कारण बढेको छ ।”

उपभोक्ताले निर्माण सामग्रीको अत्याधिक माग गरेका छन् । सामग्री उपलब्ध गराउन नसकेको माँ देवी अटोग्रिल सेन्टरका प्रोपराइटर भोगेन्द्र खनालले बताए । उनले भने, “पुनः निर्माण्का चरणमा रहेकाले धमाधम घर निर्माण हुँदै छ, सामान छैन, बर्षा लागिसक्यो । उपभोक्तालाई सामान उपलब्ध गराउन सकेका छनौँ ।”

कटारीबाट सामान ढुवानी गर्न नसकिने भएपछि वैकल्पिक मार्गहुँदै सामान ल्याउन नपाएकोे व्यापारी बताउँछन् । शिद्धिचरण लोकमार्गको विकल्पका रुपमा रहेको वर्दिबास–सिन्धुली–खुर्कोट सडक खण्डमा पनि १० टन माथिका मालबाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । ढुवानी सेवा ठप्प भएको सोलुखुम्बु उद्योग वाणिज्य संघका सचिव तार्देन शेर्पाले बताए ।

शेर्पाले भने, “पुराना सामानको मूल्य बढेको छैन तर भर्खरै ढुवानी गरिएका सामानको मूल्य ह्वात्तै बढेको छ ।”

सिद्धिचरण लोकमार्गको ठाँटी क्षेत्रमा सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकाले सवारी साधन सञ्चालनका लागि व्यवसायीले बिपी राजमार्गको प्रयोग गर्न थालेका छन् । सामान आयात ठप्प भएसँगै बजारमा ग्राहकको माग अनुसारको सामग्री उपलब्ध हुन छाडेको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए ।

उनले भने, “ढुवानीको वैकल्पिक व्यवस्था नगरे दैनिकी कष्टर बन्छ ।”

जिल्लामा मौज्दात सामानले १५ दिन धान्न सक्ने उद्योग वाणिज्य संघले जनाएको छ ।

उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले भने, “हामीलाई नाकाबन्दीको आभाष भएको छ, पेट्रोलियम पदार्थ, निर्माण सामग्री लगायतको अभाव भएको छ ।”

सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला सवारी साधन नगुडाउन अन्तरिम आदेश दिएसँगै खाद्यान्न र पेट्रोलियम पदार्थ बोकेका मालबाहक सवारी साधन सिन्धुलीमा रोकिएका छन् । ठाँटी क्षेत्रमा भइरहेको सडक स्तरोन्नतिको काम असार १५ सम्म सक्ने बताइएको छ ।