देश

ठक्करबाट पैदलयात्रुको मृत्यु

कञ्चनपुर । पूर्व—पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०, झलारी बजारमा फलफूल तथा तरकारी ढुवानी गर्ने म १ च १९१ नम्बरको गाडीले ठक्कर दिँदा बिहीबार साँझ पैदलयात्रुको मृत्यु भएको छ ।

लामो समयदेखि झलारी बजारको सत्कार होटलमा काम गर्दै आएका बेदकोट नगरपालिका–४, बैतोडाका अन्दाजी ३८ वर्षीय खडकसिंह जाग्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक रमेशप्रसाद अवस्थीले बताए ।

बेलौरीबाट आँप बोकेर आउँदै गरेको गाडीले जाग्रीलाई झलारी बजारमा ठक्कर दिएको उनले बताए। ढुवानीको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीका चालक फरार भएका छन् । मृत जाग्रीको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा लगिएको छ ।