स्वास्थ्य

दुर्दीमा ‘एक घर एक धारा’ : स्थानीय दङ्ग

बेनी, म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–४, बरंजा, दुर्दीमा रु ८५ लाख २६ हजारको लागतमा भित्रिबन खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएपछि ‘एक घर एक धारा’ अभियानले पूर्णता पाएको छ ।

आयोजना सम्पन्न भई घरघरमा बनेका धाराबाट पानी खसेपछि स्थानीय बासिन्दा दंग परेका छन् । यसअघि गाग्री र भाँडा बोकेर पानीका लागि कुवा र पोखरीमा धाउन बाध्य स्थानीयवासी अब घरको आँगनमै बनेको धाराबाट पानी झरेपछि आफ्नो वर्षौंदेखिको समस्या समाधान भएकोमा उत्साहित छन् ।

गाउँपालिकाद्वारा सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनामार्फत रु ६६ लाख २६ हजार ८४६ र रु १९ लाख बराबरको जनश्रमदान गरी रु ८५ लाख २६ हजार ८४६ को लगानीमा आयोजना सम्पन्न भएको हो ।

आयोजनाबाट ६८ घर, सामुदायिक भवन, मन्दिर र विद्यालय गरी ७१ वटा धारा निर्माण गरी पानी सञ्चालन गरिएको भित्रिबन खानेपानी उपभोक्ता समितिका सचिव भक्तबहादुर रोकाले बताए ।

आयोजनाअन्तर्गत आठ घन मिटरको एक, छ घन मिटरको दुई र तीन घनमिटरको दुई गरी पाँचवटा रिजर्भ ट्यांकीमार्फत पानी वितरण गरिएको छ । रिजर्भ ट्यांकीदेखि तीन किलोमिटर दूरीमा रहेको बोफुवा जलजलाको जंगलको मूलबाट पानी ल्याई ६० हजार लिटर क्षमताको पानी ट्यांकीमा संकलन गरी वितरण गरिन्छ ।

आयोजना सम्पन्न भई प्रत्येक घरमा धारा बनेपछि वर्षौंदेखिको खानेपानी समस्या समाधान भएकोमा उपभोक्ता खुशी भएका उपभोक्ता समितिका उपाध्यक्ष खरबहादुर रोकाले बताउए।

त्यसैगरी, स्थानीय शिक्षक एवं उपभोक्ता रामबहादुर थापाले आयोजना सम्पन्न गर्नु मात्रै ठूलो कुरा नभएर यसको दिगोपना र मर्मतसम्हारका लागि मर्मत सम्हार समिति बनाई कोषको व्यवस्थापन गर्नसके राम्रो हुने बताए । २०७४ चैतदेखि शुरु भएको यो आयोजनाका सबै धारामा पानी सञ्चालन कार्य भइरहेको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर फगामीले बताए ।

उपभोक्ता समितिको क्रियाशीलता र सक्रियतामा यति छिट्टै आयोजना सम्पन्न भएको स्थानीयले बताएका छन् । भौगोलिक रुपले विकट र छरिएर रहेको बस्तीका कारण आयोजना खर्चिलो देखिए पनि करीब १० महिनाको अवधिमा यो आयोजना सम्पन्न भएपछि दुर्दी गाउँको मुहार नै फेरिएको छ ।