देश

घरभित्र सीमित ग्रामीण महिला अब सामाजिक क्षेत्रमा

रामपुर, पाल्पा । कुनै समय छोरी, बुहारी घरको कामकाजभन्दाबाहेक अन्यत्र बाहिर निस्कन नपाउने अवस्था थियो ।

छोरी, बुहारी घरबाट बाहिर निस्के बिग्रन्छन् भन्ने गलत सोचाइका कारण घरपरिवारबाट घरायसी कामकाजबाहेक अन्यत्र निस्कन दिइँदैनथ्यो ।

तर त्यही महिला हिजोआज भने सामाजिक क्षेत्रमा सक्रिय बन्न थालेका छन् । पुरुषको बर्चस्व रहेको समाजमा दबिएर बसेका महिला पछिल्लो समय आफ्नो हक र अधिकारका निम्ति समाजमा हुने विभिन्न क्रियाकलापमा उनीहरु सरिक हुन थालेका छन् । यसले गर्दा ग्रामीण भेगका महिलामा चेतनाको विकास बढ्दै गएको छ ।

रामपुर नगरपालिका–४, दर्छा खरक गाउँ बस्ने मधु राना पहिले पहिले श्रीमान्, सासु ससूराको डरले उनी घरभित्रै खुम्चिएर बस्नुप¥यो । अहिले समयको परिवर्तनसँगै उनी आफैँ सामाजिक क्षेत्रमा हुने विभिन्न गतिविधिमा सहभागी हुने र गाउँका महिलालाई पनि सामाजिक कार्यमा निस्कन सल्लाह दिने गर्छन् ।

“पहिला त श्रीमान्, सासु ससूराले घरायसी कामबाहेक अरु काममा निस्कन दिनुहुन्नथ्यो, गाउँमा कसैका छोरी, बुहारी, श्रीमती बाहिर निस्किएका छैनन्, समाजले के भन्छ, फेरि महिलाको जात बाहिर निस्क्यो भने बिग्रन्छन् भन्नुहुन्थ्यो” उनले भने ।

“अहिले त घरपरिवारमा पनि परिवर्तन आएको छ, उनीहरु आफैँले कुरा बुझ्नुभएको छ, ‘छिटोछिटो घरको काम सकाएर सामाजिक क्षेत्रमा जाऊ, केही न केही नयाँ कुरा सिकेर आऊ’ भन्ने गर्नुहुन्छ” रानाको भनाइ छ ।

खुमाकुमारी राना पनि बिहान साँझको घरको काम सकेर दिउँसो सामाजिक काममा निस्कने गर्छन् । घरबाट बाहिर निस्कन थालेपछि धेरै कुरा सिक्न र बुझ्न पाएको उनी बताउछिन् ।

गाउँमा घरधन्दा, घाँसपात, मेलापात गरेर जीवन बिताउने यहाँका महिला समयको परिवर्तनसँगै समाजमा हुने गरेका विभिन्न कार्यक्रम, बैठक, भेला, गोष्ठीमा सहभागिता जनाउने गरेका छन् । चेतनाको विकास बढ्दै जाँदा ग्रामीण भेगका महिलाले सामाजिक कार्यमा निस्कने अवसर पाएका हुन् ।

घरपरिवार श्रीमान्को डरत्रासमा बसिरहेका महिलालाई अहिले नयाँ कुरा सिक्न र सामाजिक रुपान्तरणका लागि घरपरिवारबाटै सामाजिक कार्यमा लाग्न सहयोग मिलेको मनकुमारी राना बताउछिन् ।

श्रीमान् र घर परिवारबाट राम्रो साथ सहयोग पाएको खण्डमा महिला पनि पुरुषसरह नै जुनसुकै काममा अब्बल छन् । पुरुषको बर्चस्व बढिरहेको हाम्रो समाजमा महिलाले काम गर्ने अवसर पाए भने परम्परावादी गाउँघर समाजलाई नै रुपान्तरण गर्न सक्ने देखिन थालेको छ ।