समाचार

माइक्रोबस र ट्रक जुध्दा तीनजनाको मृत्यु, नौ घाइते

चितवन । इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने नौजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ७६९२ नंको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४०६४ नंको ट्रक आज बिहान ७ः२० बजे एकापसमा जुझेको हो ।

घटनामा परी मृत्यु भएका तीनजनाको सनाखत हुन नसकेको र घाइतेलाई भरतपुरतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ । ट्रक ५० मिटर तल त्रिशूली नदीतर्फ खसेको र सकुशल रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । भर्खरै घटना भएकाले थप विवरण आउन बाँकी रहेको छ ।