शिक्षा

पचास करोडको लागतमा दशजोड दुई

विराटनगर । विराटनगर महानगरपालिका–६ शान्तिचोकस्थित एभरेष्ट सेकेण्डरी स्कूलले रु ५० करोडको लागतमा निर्मित अत्याधुनिक भवनबाट दशजोड दुईका कक्षाको पठनपाठन गर्ने भएको छ ।

तीन बिगाह क्षेत्रफलमा आगामी कात्तिक महिनासम्ममा निर्माण सम्पन्न हुने उक्त भवनमा अत्याधुनिक सुविधा सम्पन्न कोठा रहने छन् ।

एभरेष्ट विद्यालयद्वारा बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नयाँ बन्ने भवन नेपालकै नमूना र सुविधायुक्त हुने एभरेष्ट एजुकेशन फाउण्डेशनका प्रिन्सिपल टीकाराम पुरीले जानकारी दिए ।

भवनको प्रत्येक कोठा वातानुकूलित रहनेछन् भने स्कूल परिसरभित्रै स्पोर्टस भिलेजको समेत व्यवस्था रहने बताइएको छ । स्पोर्टस् भिलेजमा फुटबल, टिटी, भलिबल खेलमैदानको साथै स्वीमिङ पुलसमेत रहने भएको छ ।

त्यस्तै, ७०० मानिस अट्ने क्षमताको सेमिनार हलसहित संगीत र नृत्यका कक्षासमेत रहने भएको छ । विद्यालयका प्राचार्य पुरीले नयाँ भवन निर्माणका लागि पहिलो चरणमा रु ३१ करोड लगानी गरिएको छ भने त्यसपछि क्रमशः लगानी गर्दै जाने बताए ।

विसं २०७५ मा विद्यालय स्थापना भएको २५ औँ बर्ष पुगेकोमा यसवर्ष हामी रजत जयन्ती वर्ष मनाउँदैछौँ,” पुरीले बताए ।

गुरुयोजनाका साथ विद्यालय अगाडि बढेको जानकारी दिँदै प्राचार्य पुरीले नयाँ भवनमा दश जोड दुईका कक्षा सञ्चालन भएपछि स्नातकोत्तर तहको कक्षा पनि नयाँ भवनमै सञ्चालन गर्ने जानकारी दिए ।

विसं २०५० मा स्थापना भएको विद्यालयले विसं २०७२ देखि दशजोड दुईको कक्षा सञ्चालन गर्दै आएको छ । दशजोड दुई कक्षा सञ्चालन गरेको छोटो समयमै एभरेष्टले उत्कृष्ट नतिजा ल्याएको छ ।

अघिल्लो वर्ष कक्षा १२ को परीक्षामा १११ जना विद्यार्थी सहभागी भएकोमा १०९ जना विद्यार्थी उत्तीर्ण भई ९८ दशमलव १९ प्रतिशत उतीर्ण गराएको प्राचार्य पुरीले जानकारी दिए । एभरेष्टमा दशजोड दुईतर्फ विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन हुँदै आएको छ ।