आर्थिक

लघुवित्तसम्बन्धी नीति परिमार्जन गर्न माग

मंगलबारे, इलाम । हालको लघुवित्तसम्बन्धी नीतिले गाउँगाउँमा समस्या निम्त्याएको भन्दै यससँग सम्बन्धित नीति परिमार्जन गर्न सरोकारवालाले माग गरेका छन् ।

नेपाल मधेश फाउण्डेशन, सुन्दर शान्त नेपाल नामक संस्थाद्वारा सदरमुकाममा आयोजित ‘वित्तिय संस्थाले पारेको सामाजिक प्रभाव तथा असर’ विषयक कार्यक्रमका वक्ताले विकृति र विसंगति बढेकाले यस्तो नीति परिमार्जन गर्न माग गरेका हुन् ।

व्यवसाय सञ्चालनका लागि ऋण आवश्यक भए पनि बढीजसो यसले समाजमा नकारात्मक असर पारेको नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष अभिषेक एक्तेनले बताए । उनले यस्ता कार्य नियन्त्रण गर्नुपर्ने धारणा

जिल्ला युवा समितिका अध्यक्ष नवराज शंकरले पहिला गाउँगाउँमा पुगेर वित्तीय साक्षरता बढाउन आवश्यक रहेको बताए । लघुवित्तमार्फत दिइने ऋण एक व्यक्ति–एक समूह बनाएर कार्यान्वयन गर्न सके समस्या केहीहदसम्म समाधान हुने उनको भनाइ थियो । राष्ट्र बैंकले दिएको सीमाभन्दा माथि रहेर ऋण लगानी गर्ने गरेको गुनासोसमेत सहभागीको छ ।

गाउँगाउँमा समूह बनाएर बिनाधितो ऋण प्रवाह गर्नु यसको सकारात्मक पाटो भए पनि दिएको ऋण उठाउने क्रममा आउने समस्याले विकृति निम्त्याएको सहभागीको भनाइ छ । बिनाधितो ऋण पाएपछि जति पनि लिने, जुन उद्देश्यमा रकम लिएको छ अन्य स्थानमा नै खर्च गर्ने भएकाले पनि समस्या उत्पन्न भएको हो ।

पछिल्लो समय लघुवित्तको संख्या बढ्दै गएकाले समस्या निम्त्याएको हो । एकपटक धेरैवटा लघुवित्तमार्फत ऋण लिँदा तिर्न समस्या हुने भएकाले कतिपयले आत्माहत्यासमेत गरेका घटना छन् । आफू रहेको ठाउँभन्दा अन्यत्रै स्थानान्तरण हुनु, वैदेशिक रोजगारीतर्फ लाग्नु र नभए अन्तिम विकल्पका रुपमा आत्महत्या रोज्ने गरेका सहकारीकर्मी टीका घिमिरेले बताए ।

गाउँगाउँमा आर्थिक द्वन्द्व रहेकाले यसलाई नियन्त्रण गर्न पहल गरिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको भनाइ थियो । “जुन उद्देश्यले ऋण लिएको छ त्यस अनुसार रकम खर्च भएको छ या छैन अनुगमन गर्नु पर्छ,” उनले भने । धितो लिएर भए पनि यसलाई नियन्त्रण गर्न आवश्यक छ ।

जिल्लामा आठदेखि ११ प्रतिशतमा ऋण लिने तथा १२ देखि १८ प्रतिशतमा लगानी गर्ने गरेको पाइएको छ । कम्पनी र ऋणअनुसार ब्याजदर फरक फरक छ ।