खेलकुद

फुटबल महाकुम्भ: कति छ पुरस्कार ? रोनाल्डो र मेस्सी बिश्राम लिदैँ, नेपालमा कस्तो प्रभाव ?

हेमराज जोशी/काठमाडौं । फुटबल के हो ? फुटबल एक खेल यो प्रश्नको सामान्य उत्तर तर यसको अर्थ र परिभाषा पृथक छ । एसोसिएशन फुटबल जसलाई प्राय: फुटबल (अङ्ग्रेजीः फुटः खुट्टा वा पद, बलः भकुण्डो) वा सकर भन्ने गरिन्छ, यो संसारकै लोकप्रिय खेलहरु मध्ये एक हो ।

यो एउटा सामुहिक खेल हो र यसलाई ११ र ११ खेलाडीहरुको दुई समुह बीच खेल्ने गरिन्छ । फुटबललाई सामान्यतः एउटा आयताकार घाँस वा कृत्रिम घाँस भएको मैदानमा खेलिन्छ जसको अन्तिममा एउटा गोलपोस्ट हुन्छ । खेलाडीहरु द्वारा विरोधी समुहको गोलपोस्टमा आफ्नो चालाकीले भकुण्डोलाई गोल गर्नुनै यस खेलको उद्देश्य हो ।

खेलमा गोलरक्षक नै एउटा मात्र यस्तो खेलाडी हुन्छ जसले भकुण्डोलाई रोक्न अथवा बचाउनका लागि आफ्नो हात प्रयोग गर्न अनुमति हुन्छ । समुहको बाँकी खेलाडी प्रायजसो भकुण्डोलाई हिर्काउन (किक)का लागि आफ्नो खुट्टाको प्रयोग गर्छन तथा कहिले काहीं हावामा भकुण्डो रोक्नका लागि आफ्नो छाती या टाउकोको प्रयोग गर्छन । जुन समुह खेलको अन्त वा समय समाप्ति सम्म बढी गोल गर्न सफल हुन्छ त्यहि टिम विजय घोषित हुन्छ । खेलको अन्त अर्थात समय समाप्ति सम्म यदि स्कोर बराबर रहेमा त्यस खेललाई बराबर वा ड्र घोषित गर्न सकिन्छ अथवा खेललाई अतिरिक्त समयमा लिएर जानु र पेनाल्टी शूट आउट द्वारा जितहारको निर्णय गर्नु प्रतियोगिताको स्वरुप माथि निर्भर हुन्छ ।

आधुनिक फुटबललाई इङ्गल्याण्डमा द फुटबल एसोसिएशन (फुटबल संघ)को गठन संगै गाँसिएको थियो र त्यस लगत्तै सन् १८६३ मा बनाइएको लव्ज अफ द गेम (खेलको कानून ) को आधारमा नै आज फुटबल खेल्ने गरिन्छ । अन्तर्रा्ष्ट्रिय आधार वा स्वरूप माथि फुटबलको नियन्त्रण (फेडरेशन इन्टरनेशनेल डी फुटबल एसोसिएशन) वा एसोसिएशन फुटबलको अन्तर्रा्ष्ट्रिय महासंघ जसलाई संक्षेपमा फिफा वा एसोसिएशन फुटबलको अन्तर्राष्ट्रिय महासंघ ले गर्छ । फुटबलको सबैभन्दा प्रतिष्ठित अन्तर्रा्ष्ट्रिय र लोकप्रिय प्रतियोगिता फिफा विश्व कप हो जसको आयोजन प्रत्येक चार वर्षको अन्तरमा गरिन्छ । यस प्रतियोगितालाई व्यापक रूपमा सम्पूर्ण विश्व मा हेर्ने गरिन्छ र यसको दर्शक ग्रीष्मकालीन ओलम्पिक खेलहरु लाई हेर्ने दर्शकहरुको लगभग दुई गुणा बढी हुन्छ ।

अब कुरा गरौँ फिफा विश्वकप फुटबलको, खेलकुदको महाकुम्भ फिफा विश्वकप फुटबल प्रत्येक चार-चार बर्षमा आयोजना गरिन्छ । यस बर्षको ‘फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८’ बिहिबार (आज) देखि सुरु हुदैँछ । भौतिक हिसाबले संसारकै सबैभन्दा ठूलो देश मानिएको रसिया अर्थात रुसमा हुन लागेको यसबर्षको फुटबल प्रतियोगिताले विश्वको ध्यान तानेको छ ।

विश्वकप फुटबलको २१ संस्करणको उद्घाटन खेलमा आज आयोजक रुस र एसियाली मुलुक साउदी अरेबिया आमनेसामने हुदैँछन् । उनीहरुको बीचको खेल नेपाली समयअनुसार राती पौने ९ बजे सुरु हुने भएको छ ।

विश्वकप आउनुभन्दा एकसाता अघि देखि नै फेसबुक, ट्वीटर, युट्युब, ईन्ष्टाग्रामजस्ता सामाजिक सञ्जाल फुटबल समर्थकहरुले अनेक क्रिया प्रतिक्रिया जनाउदैँ रङ्गाएका छन् । विश्वभरि नै आजदेखि फिफा विश्वकपले खेलाडी तथा समर्थकमा रौनकता छाएको छ ।

राजधानी मस्कोका ११ सहरका १२ रङ्गशालामा ३२ देशले ६४ खेल खेल्ने जनाईएको छ । यो विश्वकपमा मुख्य दाबेदारका रुपमा ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन, फ्रान्स, बेल्जियम, पोर्चुगल, ईङ्ल्यान्ड लगायत मुलुकलाई हेरिएको छ । जर्मनी, ब्राजिल, स्पेन, फ्रान्स, अर्जेन्टिना विश्वकप फुटबलका पूर्वविजेता समेत हुन् ।

कति छ पुरस्कार ?
उसो त फुटबललाइ संसारकै महंगो खेलमा रुपमा हेरिन्छ । झन् त्यसमा पनि विश्वकप प्रतियोगिताको पुरस्कार कति होला ? भन्ने बिषय आम सर्वसाधारणको उत्सुकताको बिषय बन्नु स्वभाविक हो । आजदेखि राजधनी मस्कोको लुजनिकी रंगशालामा सुरु हुन लागेको फिफा विश्वकप फुटबल प्रतियोगिताको बिजेताले आकर्षक ट्रफीसहित करिब ४ अर्ब नेपाली रुपियाँ पाउँदा उपविजेताले २ करोड ८० लाख डलर पाउँनेछ ।
यस्तै राउण्ड अफ १६ मा पुग्ने टोलीले करीब १ करोड २० लाख डलर, अन्तिम ८ मा पुग्नेले १ करोड ६० लाख डलर, चौंथो हुनेले २ करोड २० लाख डलर तथा तेस्रो हुनेले २ करोड ४० लाख डलर पाउने छन् ।

रोनाल्डोमेस्सी बिश्राम लिदैँ
बर्तमान फुटबल क्षेत्रका यदि कोही बादशाह छन् त ति हुन् क्रिष्टियानो रोनाल्डो र लियोनेल मेस्सी । रोनाल्डो र मेस्सीलाइ नचिन्ने खेलकुद दुनियाँमा विरलै होलान् । बर्तमान फुटबल दुनियामा दुइ खेलाडीलाइ फुटबलको अर्को नामले चिनिदैँ आइएको नौलो कुरा पक्कै पनि होइन । तर मेस्सी र रोनाल्डोका करोडौ करोड समर्थकका लागि यो विश्वकप बिशेष छ । बिशेष यसकारण बर्तमान फुटबलका महान हस्तीद्धय रोनाल्डो र मेस्सीका लागि यो विश्वकप सायद अन्तिम हुनेछ । उनीहरु दुुवै जनाले आगामी विश्वकपमा सहभागिता नजनाउने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु बताउछन् । मेस्सी अहिले ३० बर्षमा र रोनाल्डो ३३ बर्षमा छन् । ४ बर्षपछि कतारमा आयोजना हुने विश्वकपमा उनीहरुले सहभागिता नजनाउने प्रबल सम्भावना रहेको छ । वर्तमान फुटबल दुनियाँले मेस्सी र रोनाल्डोलाइ फुटबलका राजा मान्छन् त्यसकारण पनि यसपालिको विश्वकप बिशेष छ ।

नेपालमा विश्वकपको प्रभाव कति ?
बिहिबारदेखि सुरु हुन लागेको २१ औँ विश्वकप फुटबलको प्रभाव नेपालमा पनि गतिलो रुपमा देखिन थालेको छ । सडकका माग्ने देखि परिवार, समाज, देश हाक्ने सम्ममा विश्वकपको प्रभाव देखिएको हो । विश्वकप गाउँ देखि सहरसम्म केन्द्रित भएको छ । यतिबेला गाउँ देखि सहरसम्म फुटबलका समर्थकहरुको बलियो जमात सामाजिक सञ्जालमा उपस्थित छ ।

नेपालमा गाउँ भन्दा सहरबासीलाइ विश्वकपले बढी भाङ खुवाएको छ । भाङ यस मानेमा खुवाएको छ की कोही ब्राजिलका अन्धभक्त भएर हिडेका छन्, कोही अर्जेन्टिनाका, कोही जर्मनीका त कोही पोर्चुगलका अथवा अरु अरु देशका । विश्वकपले युवाहरुलाइ बढी भड्काएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा विश्वकपको नाममा नानाथरीका चर्तिकला देखाउन युवा वर्ग उद्य्त देखिएको छ ।
विश्वकपले व्यापारीहरुलाइ भने फाइदा भएको छ । टिभी, कोकाकोला, जर्सीको व्यापार ह्वात्तै बढेको छ ।

अन्त्यमा, आजदेखि सुरु भएको फुटबल महाकुम्भ झन्डै एक महिना अर्थात नेपाली महिना असारभरि चल्नेछ । यो एक महिनाको समयावधिमा विश्वकपका नाममा अनेक उत्ताउला र भड्किला कार्यकलाप नगरी सामान्य तरिकाले सभ्य र भव्य रुपमा विश्वकपको रौनकता लिनु सबै नेपाली फुटबलजनको हितमा छ ।