देश

बडीमालिकामा उपचार सहायता कोष

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाले उपचार सहायता कोष स्थापना गर्ने भएको छ । नगरपालिकाभित्र रहेका विपन्न गरीब र असहाय व्यक्तिलाई आर्थिक अभावमा उपचार गर्न नपाएका लागि उक्त कोषको स्थापना गर्न लागिएको बडीमालिका नगरपालिकाका नगर प्रमुुख पदम बडुवालले बताए ।

जिल्लाको सदरमुकामभित्र रहेको नगरपालिकामा आर्थिक अभावले उपचार नपाएर मृत्यु हुने गरेको र कतिपयले जीवनभरि अपांगताका साथ बाँच्नुपर्ने बाध्यतालाई हटाउन कोष स्थापना गर्ने नगरपालिकाले निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दामोदर जोशीले जानकारी दिए ।
विपद्मा परेका र अन्य दुर्घटनामा परेकाको उपचार गर्नका लागि मस्यौदा गर्न कार्यदल बनाएको छ । उपचार सहायता कोषका लागि मस्यौदा कार्यदल बनाइएको बडीमालिका नगरपालिकाले जनाएको छ ।

उपचार सहायता कोष निर्माणका लागि मस्यौदा बनाई प्रक्रियामा ल्याएर कोष स्थापना गरिने बताइएको छ ।